काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेस प्रदेश भूगोल (खुला) तर्फ केन्द्रीय सदस्य पदमा राकेश सिंहले उम्मेदवारी दर्ता गराएका छन्।
उम्मेदवारी दर्तापछि सिंहले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै कार्यकर्ताको सम्मान र भूमिकालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले मधेस प्रदेशका जनताको भावना, आवश्यकता र मुद्दालाई पार्टीको केन्द्रीय तहसम्म प्रभावकारी रूपमा पुर्याउन आफू सक्रिय रहने बताए। पार्टीभित्र सहकार्य, एकता र नयाँ ऊर्जालाई प्राथमिकता दिँदै कांग्रेसलाई अझ बलियो र जनमुखी संगठनका रूपमा अघि बढाउन आफ्नो भूमिका रहने उनको भनाइ छ।
सिंहले महाधिवेशन प्रतिनिधिहरूसँग विश्वास र सहकार्यका आधारमा अघि बढ्ने बताउँदै आफूलाई प्राप्त हुने जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले भने, “पार्टीको संगठन सुदृढीकरण, कार्यकर्ताको सम्मान र मधेसको आवाजलाई केन्द्रसम्म प्रभावकारी रूपमा पुर्याउने उद्देश्यसहित मैले उम्मेदवारी दिएको हुँ। सबैको साथ, सहयोग र सुझावलाई आत्मसात् गर्दै कांग्रेसलाई अझ बलियो बनाउन सक्रिय रहनेछु।”
सिंहले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा पनि पार्टी संगठन र मधेसको प्रतिनिधित्वलाई प्रभावकारी बनाउने अवसरका रूपमा लिएको बताएका छन्।