वीरगन्ज । वीरगन्ज महानगरपालिकाका पूर्वमेयर विजयकुमार सरावगीले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन्। एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टीका सबै जिम्मेवारी त्यागेको घोषणा गरेका सरावगीको नाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता परिचय सङ्ख्यासमेत सार्वजनिक भएको छ।
बिहीबार अबेर राति फेसबुकमा स्टाटस लेख्दै सरावगीले एमालेसँगको सम्बन्ध तोडेको घोषणा गरेका हुन्। उनले लेखेका छन्, ‘आजको मितिदेखि म नेकपा एमालेको साधारण सदस्य नरहने गरी सम्पूर्ण जिम्मेवारी परित्याग गरेको छु।’
तर, एमाले छाडेको घोषणासँगै रास्वपामा उनको सदस्यता विवरण सार्वजनिक भएपछि सरावगीको राजनीतिक कित्ता परिवर्तनको विषय चर्चामा आएको छ। सार्वजनिक विवरणमा उनको नाममा ‘पीआरएस १ ख ०००४३५७७६’ सदस्यता परिचय सङ्ख्या उल्लेख छ।
सरावगी २०७८ सालमा जनता समाजवादी पार्टी (जसपा) छाडेर एमालेमा प्रवेश गरेका थिए। एमालेबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा वीरगन्ज महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका उनी राजेशमान सिंहसँग पराजित भएका थिए।
जसपाबाट एमाले हुँदै रास्वपाको सदस्यता विवरणसम्म आइपुग्दा सरावगीको राजनीतिक यात्राले फेरि नयाँ मोड लिएको देखिएको छ। यद्यपि, रास्वपा प्रवेशबारे उनको औपचारिक घोषणा र पार्टीको आधिकारिक पुष्टि भने स्पष्ट हुन बाँकी छ।