वीरगञ्ज । नेपाली कांग्रेस पर्सा प्रतिनिधिसभा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन्। आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा सम्पन्न क्षेत्रीय अधिवेशनले यादवलाई पुनः सभापतिको जिम्मेवारी सुम्पिएको हो। यादव हाल जगरनाथपुर गाउँपालिकाका अध्यक्षसमेत हुन्।
अधिवेशनबाट क्षेत्रीय सचिवमा बलिष्टर अहमद तथा सहसचिवमा सन्जय चौधरी पनि सर्वसम्मत चयन भएका छन्।
त्यसैगरी, नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरू पनि सर्वसम्मत रूपमा चयन गरिएको छ। महाधिवेशन प्रतिनिधिमा पूर्व उद्योगमन्त्री रमेश रिजाल, मधेश प्रदेश सरकारका वनमन्त्री शंकर चौधरी, जिल्ला सहसचिव नविन सिंह, तबरेज अहमद, सहरुम राउत गदी, किशोरी प्रसाद कानु, पञ्चानन्द मिश्र, रेखा चौधरी, गोमा उपाध्याय, गीता विष्ट र शोभा शर्मा लगायत चयन भएका छन्।
यस्तै, क्षेत्र नम्बर ४ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ को क्षेत्रीय सभापतिमा जीवनकृष्ण सापकोटा निर्वाचित भएका छन्। उपसभापतिमा मनमोहन महतो थारु, सचिवमा मुकेश महतो तथा सहसचिवमा ललिता देवी र सेवालाल महतो कोइरी चयन भएका छन्।
प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ बाट प्रदेश अधिवेशन प्रतिनिधिमा नवराज फुयाँल, नेपाली प्रसाद कुशवाहा, अफताब मियाँ, दीपेन्द्र चौहान, अनोज चौधरी, सुरेन्द्र महतो, केशव खड्का, रुना माझी, बबिता सिंह क्षेत्री लगायत २४ जना निर्वाचित भएका क्षेत्रीय सचिव बलिष्टर अहमदले जानकारी दिए।
निवर्तमान क्षेत्रीय सभापति श्रीकान्त यादवको अध्यक्षता तथा पूर्व उद्योगमन्त्री रमेश रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्दै संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।