काठमाडौं । नेपालको संविधान जारी भएको ऐतिहासिक दिनको स्मरणमा आज देशभर संविधान दिवस तथा राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
संविधान सभाले २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संस्थागत गर्दै नेपालको संविधान जारी गरेको थियो। सोही दिनको सम्झनामा प्रत्येक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ।
दिवसका अवसरमा काठमाडौंसहित देशभर विशेष समारोह, प्रभातफेरी, सांस्कृतिक कार्यक्रम तथा अन्य विविध कार्यक्रम आयोजना गरिएको छ। राजधानीमा आयोजित मूल समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्री, सुरक्षा निकायका प्रमुख तथा अन्य विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने कार्यक्रम छ।
यस्तै, प्रदेश सरकार, स्थानीय तह, गणतन्त्रवादी राजनीतिक दल, विभिन्न संघ–संस्था तथा नागरिकस्तरबाट पनि छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइँदै छ।
दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना सन्देश जारी गर्दै संविधानको रक्षा, कार्यान्वयन, लोकतान्त्रिक मूल्य–मान्यता तथा राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन आह्वान गरेका छन्।