काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका पक्षधर सबै शक्तिहरू एकताबद्ध भएर संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्नुपर्ने बताएका छन्।
संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले मुलुकको लोकतान्त्रिक उपलब्धिको संरक्षणका लागि संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता औंल्याएका हुन्।
उनले लोकतान्त्रिक, वामपन्थी, देशभक्तिपूर्ण तथा विभिन्न वर्ग, क्षेत्र र समुदायका आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै संविधान जारी भएलगत्तै मुलुकले भोगेको नाकाबन्दीजस्ता चुनौतीपूर्ण परिस्थितिले संविधानको रक्षा र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने प्रेरणा दिएको उल्लेख गरेका छन्।
अध्यक्ष ओलीले संविधान निर्माणका क्रममा अनेक चुनौती सामना गर्नुपरेको स्मरण गर्दै आफ्नो पार्टी नेतृत्वको सरकारले छोटो समयमै आवश्यक कानुन निर्माण, संघीय संरचनाको कार्यान्वयन तथा संस्थागत विकासमार्फत संविधानलाई कार्यान्वयनको चरणमा पुर्याएको दाबी गरेका छन्।