वीरगञ्ज । देशको प्रमुख व्यापारिक नाका वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसीपी) मा माछा तस्करी, अवैध असुली र करोडौँको राजस्व चुहावटको गम्भीर रहस्य बाहिर आएको छ। भदौ ३० गते राति माछा बोकेको मालवाहक गाडी पास गराउने विषयमा दुई पक्षबीच भएको कुटपिट र विवादपछि भन्सार परिसरमा भइरहेको गैरकानुनी हस्तक्षेप र गिरोहको पर्दाफास भएको हो।
उक्त झडप तथा अभद्र व्यवहारको घटनामा संलग्न रहेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगञ्ज महानगरपालिका–२५ का वडासभापति प्रकाश साहलाई पक्राउ गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ।
स्थानीय व्यवसायी तथा स्रोतका अनुसार आईसीपी नाका हुँदै भारतबाट हुने माछा आयातमा अजय साहको समूहले लामो समयदेखि गैरकानुनी ‘वर्चस्व’ जमाउँदै आएको छ। अजय साह पेसाले पत्रकार भएकाले उनले आफ्नो सञ्चारकर्मीको परिचय, पहुँच र प्रभावलाई ढाल बनाएर भन्सार परिसरमा बिचौलिया तथा तस्करीको धन्दा सञ्चालन गर्ने गरेको कडा आरोप छ।
अजय साहले आफ्ना भाइ एवं रास्वपा वडासभापति प्रकाश साहमार्फत भन्सारका कर्मचारी तथा व्यवसायीहरूमाथि डर, त्रास र दबाब सिर्जना गर्ने गरेको बताइएको छ। प्रकाश साहले आफू अर्थमन्त्री स्वर्णिम वाग्लेसँग निकट सम्बन्धमा रहेको र माथिल्लो तहको राजनीतिक संरक्षण रहेको भन्दै भन्सार अधिकारीहरूलाई धम्क्याउने र गैरकानुनी ‘सेटिङ’ मिलाउने गरेको आरोप छ। सञ्चार माध्यमको आवरणमा अजय साह र राजनीतिक पहुँचको प्रयोग गरी प्रकाश साहले आईसीपी परिसरमा कब्जा जमाएर भन्सार जाँचपासमा गैरकानुनी हस्तक्षेप गर्दै आएको स्थानीयको दाबी छ।
भन्सार नाकामा माछा बोकेका गाडीहरूको तौल घटाउने र भन्सार छली गर्ने ठूलो गिरोह नै सक्रिय रहेको गम्भीर तथ्य सार्वजनिक भएको छ। तौल काँटाका कर्मचारी र बिचौलियाको मिलेमतोमा माछा बोकेका गाडीको वास्तविक तौलभन्दा ३ देखि ४ टनसम्म घटाएर राजस्व मारिने गरिएको छ।
यसका साथै भारतबाट १० वटा माछा बोकेका गाडी नेपाल प्रवेश गर्दा ७ वटा गाडीको मात्रै औपचारिक भन्सार जाँचपास गराइने र बाँकी ३ वटा गाडी तिनै ७ वटा गाडीको भन्सार कागजात (कागजपत्र) को प्रयोग गरी गैरकानुनी रूपमा भन्सारबाट बाहिर निकालिने गरिएको आरोप छ। यसरी दैनिक रूपमा ठूलो मात्रामा माछाको अवैध तस्करी र राजस्व चुहावट गरी राज्यको ढुकुटीमाथि गम्भीर अपराध भइरहेको छ।
अजय साह र प्रकाश साह दाजुभाइले भन्सारमा माछाको अवैध तस्करी, असुली र राजस्व चुहावटको बलमा अस्वाभाविक एवं करोडौँ बराबरको सम्पत्ति जोड्न सफल भएको आरोप स्थानीयस्तरमा व्यापक बनेको छ।
वीरगञ्जमा करिब १४ कठ्ठा जग्गा खरिद गरी भव्य भवन निर्माणको काम सुरु भएपछि उनीहरूको आर्थिक स्रोतमाथि गम्भीर प्रश्न खडा भएको छ। भन्सार छली र अवैध धन्दाबाटै सो सम्पत्ति जोडिएको आशङ्का गर्दै स्थानीयवासीहरूले उनीहरूको बैंक कारोबार, सम्पत्तिको वैधानिक स्रोत र राजस्व दाखिलाको विवरणमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन्।
वीरगञ्जजस्तो संवेदनशील नाकामा पत्रकारिता र राजनीतिको आडमा माछा तस्करी गर्ने, राजस्व चुहावट गर्ने र गैरकानुनी असुलीमा संलग्न जोकोहीलाई पनि कानुनको दायरामा ल्याउनुपर्ने सरोकारवालाहरूको जोड छ।
प्रहरी प्रशासन र भन्सार विभागले आईसीपीका सीसीटीभी फुटेज, तौल मेसिनको डिजिटल अभिलेख, भारतीय भन्सार र नेपाली भन्सारको प्रवेश-निकासी रेकर्ड मिलान गरी पत्रकार अजय साह र पक्राउ परेका प्रकाश साहलगायत सम्पूर्ण गिरोहमाथि कडा कानुनी कारबाही चलाउनुपर्ने दबाब बढेको छ।