हेटौंडा, २४ वैशाख । हेटौंडाको गैरीगाउँमा जमिन भासिएर एक गाडी बेपत्ता भएपछि त्यसको खोजीमा खानी तथा भूगर्भ विभागका विज्ञहरूले स्थलगत अध्ययन थालेका छन् ।
गत शुक्रबार ना ४ च ४८३३ नम्बरको गाडी घाँस काट्ने मेसिनसहित रोकिराखिएको अवस्थामा अचानक जमिन भासिँदा बेपत्ता भएको थियो । यता, गाडीको अत्तोपत्तो नलागेपछि हेटौंडा उपमहानगरपालिकाले भूगर्भविद् टोली ल्याएर अनुसन्धान अघि बढाएको छ ।
मंगलबार बिहान ९ बजेबाट खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा अध्ययन कार्य आरम्भ भएको हो । टोलीमा भूगर्भविद् कृष्ण पाण्डे, मणी खनालसहित चार जना विशेषज्ञ समावेश छन् । उनीहरूले दिनभरि अध्ययन गर्दै बेलुका ७ बजेसम्म विभिन्न वैज्ञानिक प्रविधिको प्रयोग गरेर घटनास्थलको विश्लेषण गरेका छन् ।
अध्ययन टोलीले विशेष रूपमा ‘प्रोटोन म्याग्नेटो मिटर’ र ‘पावर अगर’ नामक प्रविधिको प्रयोग गरेको छ । म्याग्नेटो मिटर चुम्बकीय क्षेत्रका आधारमा फलामजन्य वस्तुहरू पहिचान गर्न प्रयोग गरिन्छ, भने पावर अगर विधि जमिनमा सानो सुरुङ खनेर भित्री बनावट पत्ता लगाउने ड्रिलिङ प्रणाली हो । प्रारम्भिक अध्ययनमा भूगर्भविद्ले जमिनको सतह, माटोको प्रकृति, भूगर्भिक बनावट, जमिनको शक्ति र दलदल हुने सम्भाव्यता समेत परीक्षण गरेका थिए ।
भूगर्भविद् अधिकारीका अनुसार यो क्षेत्रको भूगर्भिक बनावट अत्यन्तै कमजोर र तरलतायुक्त पाइएको छ । जमिनको माथिल्लो सतहमा केही मात्रामा कडा माटो भए पनि तल्लो तहमा बालुवा र दलदल मिश्रित माटो रहेको स्पष्ट गरिएको छ ।
त्यस्तै, पाँच मिटर तलैदेखि बालुवायुक्त तह फेला परेको छ, जुन भूगर्भिक दृष्टिले जोखिमयुक्त मानिन्छ । त्यहाँको माटोमा प्रेसर उत्पन्न हुँदा जमिन तरल हुने अवस्था सिर्जना भएको अनुसन्धानमा खुलेको छ । वैज्ञानिक भाषामा यस्ता क्षेत्रलाई ‘सेयर स्ट्रेन्थ’ शून्य हुने स्थान मानिन्छ, जसमा कुनै पनि प्रकारको गतिशील लोड या दबाब परेमा माटो ठोस नहुन सक्छ र तरल अवस्थामा परिणत हुन सक्छ । यही प्रकृतिका कारण गाडी जमिनमा भासिएको हुनसक्ने भूगर्भविद्को अनुमान छ ।
गाडीको सटीक लोकेसन पत्ता लगाउन म्याग्नेटो मिटरमार्फत अनुसन्धान गर्दा खाल्डो परेको स्थानभन्दा केही पूर्वतर्फ चुम्बकीय आकर्षण तीव्र पाइएको थियो । उक्त क्षेत्रफलमा फलामजन्य वस्तु रहेको अनुमान गरिएको छ । म्याग्नेटो मिटर प्रत्यक्ष रूपमा गाडी देखाउने उपकरण नभए पनि यसले फलामको उपस्थिति संकेत गर्न सक्छ । त्यसैले, अनुसन्धानलाई थप पुष्टि गर्न तीन स्थानमा पावर अगर प्रविधिबाट ड्रिलिङ गरिएको थियो । तीमध्ये दुई स्थानमा करिब ५.४० र ५.६० मिटरको गहिराइमा कडा फलामजन्य वस्तु भेटिएको भूगर्भविद्को भनाइ छ ।
यो परीक्षणका क्रममा एक स्थानमा प्रयोग गरिएको रड सजिलै ८ मिटर गहिराइसम्म गयो भने बाँकी दुई स्थानमा मात्र करिब ६ मिटरसम्म धस्न सकेको थियो । यसले त्यहाँ कुनै कडा वस्तु वा संरचना रहेको स्पष्ट सङ्केत गरेको छ । यद्यपि, भूगर्भविद्हरूले त्यो वस्तु हराएको गाडी नै हो भन्ने निश्चित निष्कर्ष दिन सकेका छैनन् । उनीहरूले गाडीका पाटपूर्जाहरू भेट्ने हिसाबले खोजी नगरेको र विज्ञानको आधारमा म्याग्नेटिक लोकेसन पहिचान गरिएको स्पष्ट पारेका छन् ।
गाडी हराएको स्थानको थप परीक्षण बुधबार बिहानदेखि पुनः सुरु गरिएको छ । पावर अगर विधिबाट लोकेट गरिएको स्थानमा पुनः ड्रिलिङ गरी थप पुष्टि गरिने छ। साथै, त्यस क्षेत्रको माटोको नमूना संकलन गरी भूमिगत जलको अवस्थितिबारे समेत अध्ययन गरिने तयारी छ । अनुसन्धानका क्रममा माटोको परीक्षणले पनि भूगर्भीय दृष्टिकोणबाट उक्त क्षेत्र जोखिमयुक्त रहेको पुष्टि गरिरहेको छ ।
गत शुक्रबार भएको घटनामा, गाडी घाँस काट्ने मेसिन लोड गरेर गैरीगाउँ पुगेको थियो । उक्त गाडीको अगाडिको पाङ्ग्रा भासिएपछि त्यसलाई निकाल्ने प्रयास भइरहेका बेला अचानक सम्पूर्ण गाडी जमिनमा भासिएर बेपत्ता भएको थियो । लगातार तीन दिनसम्म स्थानीय निकाय र सुरक्षाकर्मीको पहलमा खोजी गर्दा पनि गाडी भेट्टाउन नसकिएपछि हेटौँडा उपमहानगरपालिकाले भूगर्भ विभागसँग समन्वय गरेर विज्ञ टोली खटाएको हो ।
घटनाले हेटौंडाको भूगर्भीय संवेदनशीलता र जमिनको बनोटसम्बन्धी गम्भीर प्रश्नहरू उठाएको छ । स्थानीय बासिन्दा त्रसित छन्, किनकि यस्तो घटना भविष्यमा फेरि दोहोरिन सक्ने सम्भावनालाई नकार्न सकिँदैन । अहिलेको अध्ययनले त्यस स्थानको भूगर्भीय अवस्था कस्तो छ र भविष्यमा कसरी त्यस्ता जोखिमबाट जोगिने भन्ने दिशामा स्पष्ट संकेत दिन सक्ने अपेक्षा गरिएको छ ।
गाडीको वास्तविक अवस्था, त्यसको स्थान, र भूगर्भीय कारणबारे अझ विस्तृत अनुसन्धान भइरहेको छ ।