काठमाडौँ । भदौ २३ गते भएको प्रदर्शनपछि मुलुकभरका कारागार र प्रहरी हिरासतबाट हजारौं कैदीबन्दी तथा थुनुवा फरार भएपछि नेपाल प्रहरीले उनीहरूलाई सम्पर्कमा आउन अपिल गरेको छ ।
प्रहरी महानिरीक्षकको सचिवालयले बिहीबार विज्ञप्ति जारी गर्दै फरार कैदीबन्दी तथा थुनुवाहरूलाई नजिकको जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाइ वा अन्य सुरक्षा निकायको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘कसुर बुझेका, सजाय भोगिरहेकाहरूले सम्पर्कमा आएर कानूनको पालना गर्न सहयोग पुर्याउनु उपयुक्त हुन्छ ।’
प्रदर्शन, तोडफोड र आगजनीका बीच फरार हुनेहरूमा उच्च प्रोफाइल राजनीतिक तथा आपराधिक पृष्ठभूमिका व्यक्ति समेत छन् ।
नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निस्किएको घटनाले थप विवाद सिर्जना गरेको छ । उनले आफू कानुनी प्रक्रिया पूरा गरेर निस्किएको दाबी गरेका छन् ।
त्यसैगरी, केन्द्रीय कारागारको भद्रबन्दीगृहबाट पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डेय, सुन तस्करीका अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ लगायत पनि फरार रहेका छन् ।
प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडले केही कारागारहरू पूर्ण रूपमा खाली भएका छन् । सेनाले केही भागेका कैदीहरूलाई नियन्त्रणमा लिएर पुनः कारागारमा पठाएको प्रहरीले जनाएको छ ।
तर ठूलो संख्यामा फरार कैदी र थुनुवा अझै सम्पर्कमा आइसकेका छैनन् । प्रहरीको अपिलसँगै अब ती फरार व्यक्तिहरू स्वेच्छिक रूपमा फर्कन्छन् कि कठोर कारबाहीमार्फत नियन्त्रणमा लिइन्छन् भन्ने चासो बढेको छ ।