इन्डोनेशियाको बालीमा बाढीमा परी कम्तीमा १४ जनाको ज्यान गएको छ । अधिकारीहरूले यसलाई बालीको दशककै ठूलो बाढी बताएका बीबीसीले जनाएको छ ।
मुसलधारे वर्षाका कारण टापुको धेरैजसो भागमा ठूलो बाढी आएको हो । पानी पर्न रोकिएसँगै अहिले पानीको सतह घट्दै गएको छ तर उद्धारकर्ताहरूले अझै पनि हराएका व्यक्तिहरूको खोजी गरिरहेका खबरमा उल्लेख छ ।
डेनपासारमा २ जना बेपत्ता छन्, यहाँ ८ जनाको ज्यान गएको थियो । मङ्गलवारदेखि सयौं बासिन्दाहरूलाई उनीहरूको घर डुबानमा परेपछि अन्यत्र सारिएको छ । पहिरोका कारण प्रमुख सडकहरू बन्द भएका छन् र कम्तीमा २ वटा पुल क्षतिग्रस्त भएका छन् । प्रान्तीय सरकारले एक हप्ता लामो आपत्कालीन अवस्था घोषणा गरेको छ ।
यसैबीच राष्ट्रपति प्रबोवो सुबियान्तोले घटनाप्रति समवेदना व्यक्त गर्दै सबै सम्बन्धित निकायहरूलाई छिटो काम गर्न निर्देशन दिनुभएको छ ।