वीरगञ्ज । पर्सा जिल्ला सुरक्षा समितिले प्रदर्शन र आन्दोलनको नाममा अराजक, उच्छृङ्खल र गैरकानूनी गतिविधि गर्ने व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जारी गरेको विज्ञप्तिमा हुलहुज्जत गरी सरकारी कार्यालय, निजी वा सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी वा क्षति पुर्याउने कुनै पनि कार्य गरेमा सुरक्षा फौजले तत्काल पक्राउ गरी प्रचलित कानुनअनुसार कडा कारबाही गर्ने उल्लेख छ ।
सोमबार र मङ्गलवार पर्सा जिल्ला लगायत मुलुकका विभिन्न भागमा भएका प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको भन्दै समितिले यस्ता गतिविधि रोक्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालित भएको जनाएको छ ।
“कुनै पनि व्यक्ति वा समूहले प्रचलित कानुन विपरीत अराजक गतिविधि गरेमा वा सम्पत्तिमा क्षति पुर्याएमा तत्काल पक्राउ गरी कानुनी कारबाही गरिनेछ,” विज्ञप्तिमा भनिएको छ ।
प्रमुख जिल्ला अधिकारी सुवेदीले शान्ति र अमनचैन कायम गर्न सबै नागरिकलाई संयमित रहन र गैरकानूनी कार्यबाट टाढा रहन अपिल गरेका छन् । जिल्ला सुरक्षा समितिले यस्ता गतिविधि नियन्त्रण गर्न र शान्ति कायम गर्न कटिबद्ध रहेको जनाउँदै सबैबाट सहयोगको अपेक्षा गरेको छ ।
यसैबिच जिल्ला सुरक्षा समितिको बैठकले पर्सामा लगाइएको कर्फ्युलाई खुकुलो पार्ने निर्णय गरेको छ । जेन-जी आन्दोलनका कारण सृजित विषम परिस्थिति सामान्य हुँदै गएको भन्दै पर्सा जिल्ला प्रशासनले कर्फ्यु खुकुलो गर्ने निर्णय गरिएको हो ।
सिडिओ सुवेदीले एउटा सूचना जारी गर्दै, बिहीबार बसेको सुरक्षा समितिको बैठकको निर्णय अनुसार सर्वसाधारणको सहजताका लागि जिल्लामा कर्फ्युलाई आंशिक रूपमा खुकुलो बनाइएको बताएका छन् ।
बैठकले बिहान ७ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म कर्फ्यु हटाउने निर्णय गरेको उनले सिडिओ सुवेदीले जानकारी दिए । यद्यपि, कर्फ्यु हटाइएको समयमा निषेधाज्ञा भने यथावत् रहने उनले जनाएका छन् ।
