काठमाडौं । नेपाली राजनीतिमा पार्टी नेतृत्वको आचरण, अनुशासन र जिम्मेवारीबोधबारे समय–समयमा प्रश्न उठ्ने गरेको छ। यस्ता प्रश्न र विवाद उठेपछि कसरी सम्बोधन गरिन्छ भन्ने विषयले दलहरूको राजनीतिक संस्कारको स्तर मापन गर्ने आधार बन्ने गरेको छ।
यसै सन्दर्भमा, नेकपा एमालेले पछिल्ला वर्षहरूमा आफ्ना नेतामाथि प्रश्न उठ्नासाथ तत्कालीन निर्णय लिँदै राजनीतिक जिम्मेवारी बोध गराएको उदाहरणहरू देखिएको छ।
पूर्वमन्त्री गोकुल बास्कोटा, शेरबहादुर तामाङ्गदेखि लिएर हालैका दिनमा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासम्मको घटनामा पार्टीले सार्वजनिक आरोप लागेपछि तुरुन्तै राजीनामा दिन लगाएको छ। यी राजीनामा केवल कानुनी बाध्यता नभएर पार्टीको आन्तरिक अनुशासन र राजनीतिक नीतिको संकेत भएको एमालेको दाबी छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भनिएका एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेपछि पार्टीले उनलाई कुनै राजनीतिक संरक्षण दिएको थिएन। मन्त्रीसमेत रहेका रायमाझीमाथि प्रश्न उठेपछि न त पार्टीभित्र लबिङ देखियो, न त संसदमा शक्ति प्रदर्शन। पार्टी मौन बस्यो र न्यायिक प्रक्रियालाई सम्मान गर्दै दोष पुष्टि नहुञ्जेल कुर्ने नीति अख्तियार गर्यो।
यसको विपरीत अन्य दलहरूको व्यवहार भने फरक देखिएको छ। उदाहरणस्वरूप, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेमाथि नागरिकता प्रकरणमा गम्भीर प्रश्न उठे पनि प्रारम्भमा उनले राजीनामा दिन मानेनन्। अन्ततः अदालतबाट निलम्बन भएपछि मात्र उनले पद त्याग गरे।
त्यस्तै, सत्तारूढ नेपाली कांग्रेसका गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएर व्यापक विवादमा तानिए पनि अहिलेसम्म उनले कुनै नैतिक जिम्मेवारी लिएका छैनन्। संसद समेत अवरुद्ध हुने अवस्थामा पुगे पनि उनले राजीनामा दिने पहल गरेका छैनन्।
त्यस्तै, कांग्रेसकै अफ्ताब आलममाथि इँटाभट्टामा मानिस जिउँदै जलाएको जघन्य आरोप छ। आलम हाल अदालतबाट रिहा भई खुलेआम हिँडिरहेका छन्। अर्का नेता बालकृष्ण खाँण भुटानी शरणार्थी प्रकरणमा संलग्न भइ धरौटीमा छुटे पनि राजनीतिक दबाब र 'सेटिङ'को आरोप सामाजिक सञ्जालभरि छाएको थियो।
यी घटनाहरूले सत्ता र सुशासनबीचको अन्तर, दलहरूको नैतिक प्रतिबद्धता र कानूनको सम्मान गर्ने संस्कारलाई स्पष्ट रूपमा देखाएको छ। एकातिर प्रश्न उठ्नेबित्तिकै कारबाही गर्दै जिम्मेवारी लिने एमालेजस्तो दल छन् भने अर्कोतिर राजनीतिक हैसियतको आडमा कानुनी प्रक्रियालाई लत्याउँदै कुर्सीमा टाँसिइरहने प्रवृत्ति पनि विद्यमान छ।
यस सन्दर्भमा विश्लेषकहरू भन्छन् — नेपाली राजनीतिको शुद्धीकरणका लागि मात्र कानुनी प्रक्रिया होइन, दलहरूको नैतिक संस्कार र अनुशासन पनि उत्तिकै महत्वपूर्ण छ। राजनीतिक सत्ता केवल हैकम जमाउने माध्यम होइन, जिम्मेवारी वहन गर्ने संयन्त्र पनि हो भन्ने उदाहरण एमालेले देखाइरहेको छ।