काठमाडौं । नेकपा एमालेको आसन्न ११ औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरु कुन क्षेत्रबाट कति जनाले प्रतिनिधित्व गर्छन् भन्ने विषय पार्टीले स्पष्ट पारेको छ । आगामी २७–२९ मंसिरमा काठमाडौंमा हुने महाधिवेशनमा २१२७ जना प्रतिनिधि सहभागी हुनेछन् ।
पार्टीले हालै जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि)मा कुन कुन क्षेत्रबाट कति कति जना प्रतिनिधि कसरी चुनिन्छन् भन्ने विषय स्पष्ट बनाएर मातहतका कमिटीलाई पठाइएको केन्द्रीय कार्यालयले जनाएको छ ।
केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार पार्टी सदस्यताको संख्या अनुसार विभिन्न ‘क्लस्टर’ छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको छ ।
‘अपानिमा सबै क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सम्बन्धी व्यवस्था,पार्टी सदस्यको संख्याको आधारमा हुने प्रतिनिधित्व आदि विषयहरु खुलाएर मातहतका कमिटीमा पठाइएको छ’ डा. अधिकारीले भने ‘यो व्यवस्थालाई जिल्ला कमिटीहरुले लागु गर्ने छन् । यसमा कुनै द्विविधा भएमा सम्बन्धित जिल्लाका इन्चार्ज,पार्टी केन्द्रीय कार्यालय वा संगठन विभागमा सम्पर्क गरेर स्पष्ट हुन सकिन्छ ।’
एमालेले पठाएको अपानिमा केन्द्रीय कमिटी,तीनवटा आयोग र केन्द्रीय सल्लाहकार परिषदबाट निर्वाचित सहित ४६४ जना प्रतिनिधि रहनेछन् । जसअनुसार केन्द्रीय कमिटीबाट ३५५,अनुशासन आयोग २९,निर्वाचन आयोग ३०,लेखा आयोग २५ र केन्द्रीय सल्लाहकार परिषदबाट निर्वाचित हुने २५ जना प्रतिनिधि हुनेछन् ।
यसैगरी, स्वदेशका प्रदेशस्तरीय (विशेष प्रदेशसहित)का कमिटीहरुबाट कम्तीमा दुईजना महिलासहित पाँच जनाका दरले ४५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । महाधिवेशनमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो क्लस्टर भनेको भूगोल हो । जसलाई एमालेले संघीय निर्वाचन क्षेत्रका आधारमा विभाजन गरेको छ । यसरी १६५ संघीय निर्वाचन क्षेत्रबाट समावेशिताको सिद्धान्त अनुसार ११३५ जना प्रतिनिधि सहभागी हुनेछन् । जसमा हरेक निर्वाचन क्षेत्रमा रहेका १२०० पार्टी सदस्य बराबर ४० वर्ष मुनीका एक जना युवा र एक जना महिलासहित ४ जनाले प्रतिनिधित्व गर्नेछन् ।
संघीय निर्वाचन क्षेत्रबाट हुने प्रतिनिधित्वका बारेमा थप स्पष्ट पार्दै एमालेको अपानिमा भनिएको छ ‘न्यूनतमा १२०० पार्टी सदस्यमा थप ८०० सदस्य नाघेमा थप एक जना महिला प्रतिनिधि र त्यसपछि प्रत्येक ८/८ सय नाघेमा थप निर्वाचित खुला प्रतिनिधि हुने । सोभन्दा बढी भएमा पहिलो ८०० मा महिला र त्यसपछि खुला निर्वाचित प्रतिनिधि हुने ।’
अपानिका अनुसार स्वदेशका विशेष जिल्ला अन्तरगत १२०० जनासम्म पार्टी सदस्य बराबर कम्तीमा एक महिलासहित तीन जना निर्वाचित प्रतिनिधि रहने । (सदस्य संख्या ८०० नाघेमा प्रत्येक ८०० मा थप एक, यस्तो संख्यामा कम्तीमा एक तिहाइ महिला सुनिश्चित गर्ने) यसरी विशेष जिल्ला अन्तरगत ४७ जना निर्वाचित प्रतिनिधि संख्या रहने जनाइएको छ ।
एमालेको महाधिवेशनमा दलित आरक्षण अन्तरगतका प्रनिनिधि कम्तीमा ८१ जना रहनेछन् । दलितको हकमा हरेक निर्वाचन क्षेत्रमा ५०० पार्टी सदस्य बराबर एकजना प्रतिनिधि र त्यसभन्दा माथि सदस्य भएमा दुई जना र तीन जना प्रतिनिधि निर्वाचित हुने भएमा कम्तीमा एक जना महिला प्रतिनिधि हुनुपर्ने व्यवस्था गरिएको छ । श्रमिकको क्लस्टरबाट महाधिवेशनमा ४९ जना प्रतिनिधि सहभागी हुने व्यवस्था गरिएको छ । जसअनुसार हरेक भूगोलका सातवटा प्रदेशमा कार्यरत श्रमिक पार्टी सदस्यहरुबाट कम्तीमा तीनजना महिला सहित ७ जनाका दरले प्रतिनिधिहरु निर्वाचित भएर आउनेछन् ।
एमालेका प्रवासमा रहेका कमिटीहरुबाट ३५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । जसमा भारत प्रवास विशेष कमिटीबाट कम्तीमा तीन जना महिलासहित १० जना,अमेरिका/क्यानडा, युरोप, एशिया प्यासिफिक, खाडी र ओसिनियाबाट प्रत्येक क्षेत्रमा दुई जना महिलासहित पाँच जनाका दरले निर्वाचित भएर ३५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने एमालेको अपानिमा जनाइएको छ । केन्द्रीय विभागमा रहेका पार्टी सदस्यहरु मध्येबाट एक/एक जनाका दरले ३२ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् ।
यस्तै, केन्द्रीय कार्यालयमा कार्यरत पार्टी सदस्यहरुबाट एक जना प्रतिनिधिलाई प्रतिनिधित्व गराइनेछ ।
पार्टीका २३ वटा जनसंगठन मध्येबाट अनुसूची एक र महासंघीय संरचनामा भएका जनसंगठनबाट कम्तीमा तीन जना महिला सहित ७ जना प्रतिनिधि हुनेछन् । यस अन्तरगत खेलकुद महासंघ, किसान महासंघ, अनेरास्ववियु, युवा संघ नेपाल लगायतका ११ जनसंगठन छन् । अनुसूची दुई अन्तरगतका १२ वटा जनसंगठनबाट कम्तीमा दुई महिलासहित पाँच जना प्रतिनिधिले महाधिवेशनमा सहभागी हुन पाउने एमालेले जनाएको छ ।
‘पार्टीले तय गरेको मापदण्डका आधारमा २३ वटा जनसंगठनबाट १३७ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुन्छन्’ पार्टीको जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले भने ।
यसरी सबै क्षेत्रबाट निर्वाचित भएर आउने प्रतिनिधिको संख्या २,०२६ जना हुनेछ । एमालेको विधान अनुसार कुल निर्वाचित प्रतिनिधिको पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने व्यवस्था छ । जस अनुसार पार्टी सचिवालयले १०१ जना प्रतिनिधि मनोनित गर्दा कुल प्रतिनिधिको संख्या २,१२७ हुने एमालेले जनाएको छ ।