वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले वीरगञ्ज महानगरपालिका–१८ स्थित भवानीपुरका स्थानीय बासिन्दासँग भेटघाट तथा बृहत् छलफल गरेका छन् ।
छलफलका क्रममा पटेलले स्थानीय बासिन्दाका समस्या, जनगुनासा तथा वीरगञ्ज महानगरपालिकाको विकाससँग सम्बन्धित विभिन्न विषयमा जानकारी लिएका थिए । उनले स्थानीयस्तरमा देखिएका समस्याको पहिचान गरी समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुपर्ने बताए ।
भेटघाटमा सडक, खानेपानी, ढल निकास, सरसफाइ, शिक्षा, स्वास्थ्यलगायत आधारभूत सेवासँग सम्बन्धित विषयमा चर्चा भएको थियो । स्थानीय जनताको आवश्यकता र अपेक्षालाई प्राथमिकतामा राखेर विकास निर्माणका काम अघि बढाउनुपर्नेमा पटेलले जोड दिए ।
वीरगञ्जलाई व्यवस्थित, समुन्नत र समृद्ध सहर बनाउन जनसहभागिता, जनप्रतिनिधिको जवाफदेहिता र विकास योजनाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनको भनाइ थियो । जनताका वास्तविक समस्या सुन्ने र तिनको समाधानका लागि पहल गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।
पटेलले रास्वपा नेतृत्वको सरकारले सुशासन कायम गर्न, सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन र विकाससम्बन्धी जनअपेक्षा पूरा गर्न प्रयास गरिरहेको पनि उल्लेख गरे ।
स्थानीयसँगको भेटघाटले भवानीपुरका बासिन्दाका समस्या, आवश्यकता र अपेक्षाबारे प्रत्यक्ष जानकारी लिनुका साथै वीरगञ्जको समग्र विकासका विषयमा विचार आदानप्रदान गर्ने अवसर प्रदान गरेको जनाइएको छ ।