धनुषा । निर्वाचन आयोगले देशभरबाट २ लाख ३ हजार ५८६ जनाको नाम मतदाता नामावलीबाट हटाएको छ । मृत्यु भएका, दोहोरो नाम परेका तथा नागरिकता त्यागेका लगायतका व्यक्तिको नाम मतदाता नामावली अद्यावधिक गर्ने क्रममा हटाइएको आयोगले जनाएको छ ।
आयोगका अनुसार हटाइएकामध्ये ४५ हजार ३२२ जना मृत्यु भएका मतदाता हुन् । त्यस्तै, दोहोरो नाम परेको, नाम रद्द भएको वा नागरिकता त्यागेका कारण १ लाख ५८ हजार २६४ जनाको नाम हटाइएको छ ।
मधेश प्रदेशको धनुषामा मात्रै मृत्यु भएका ३६९ जना र दोहोरो नाम परेको, रद्द भएको वा नागरिकता त्यागेका ४ हजार ४४८ जना गरी कुल ४ हजार ८१७ जनाको नाम मतदाता नामावलीबाट हटाइएको छ ।
अन्य जिल्लामध्ये मोरङमा मृत्यु भएका ६१० जना र अन्य कारणले ९ हजार ५२१ जना, सप्तरीमा मृत्यु भएका ६ हजार ३०१ जना र अन्य कारणले ४ हजार ८७ जना मतदाताको नाम हटाइएको छ ।
झापामा मृत्यु भएका ८३४ जना र अन्य कारणले ६ हजार १८८ जना, सुनसरीमा मृत्यु भएका ७९८ जना र अन्य कारणले ४ हजार ७६२ जना तथा रौतहटमा मृत्यु भएका २ हजार ५१४ जना र अन्य कारणले ४ हजार १५१ जनाको नाम हटाइएको आयोगको विवरणमा उल्लेख छ ।
त्यस्तै, पाल्पामा मृत्यु भएका ३ हजार ४४ जना र अन्य कारणले १ हजार ६८५ जना, रुपन्देहीमा मृत्यु भएका १८१ जना र अन्य कारणले ४ हजार ३६१ जना तथा कैलालीमा मृत्यु भएका १ हजार ३९ जना र अन्य कारणले ६ हजार ५२५ जना मतदाताको नाम हटाइएको छ ।
गत २१ फागुन २०८२ मा भएको प्रतिनिधिसभा निर्वाचनमा देशभर कुल १ करोड ८९ लाख ३ हजार ६८९ जना मतदाता थिए । नामावली अद्यावधिकका क्रममा पुराना नाम हटाउनुका साथै नयाँ मतदाता पनि थपिएका छन् ।
आयोगका अनुसार गत भदौ १५ गतेसम्म १८ वर्ष उमेर पूरा भएका र नयाँ नाम दर्ता गराएका १ लाख ८७ हजार ६८६ जना मतदाता नामावलीमा थपिएका छन् ।
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार स्थानीय तह र प्रदेशसभा निर्वाचनको पूर्वतयारीस्वरूप मतदाता नामावली अद्यावधिकको काम भइरहेको छ । निर्वाचन तयारीअन्तर्गत नामावलीलाई अद्यावधिक र व्यवस्थित बनाउने काम भइरहेको उनले बताएका छन् ।
आयोगले आगामी स्थानीय तह निर्वाचनअघि मतदाताको राष्ट्रिय परिचयपत्र नम्बर र मोबाइल नम्बरसमेत अद्यावधिक गर्ने तयारी गरेको छ । पछिल्लो समय नाम दर्ता गराएका मतदाताको विवरणमा राष्ट्रिय परिचयपत्र नम्बर समावेश भए पनि पहिल्यै नाम दर्ता गराएका मतदाताको विवरणमा यस्तो नम्बर समावेश नभएको आयोगले जनाएको छ ।
मतदाता नामावलीमा राष्ट्रिय परिचयपत्रको विवरण समावेश गर्ने निर्णय गरिसकेको आयोगले यसका लागि सम्बन्धित निकायसँग समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारीसमेत गरिरहेको छ ।