जनकपुरधाम। उज्यालो नेपाल पार्टी, मधेस प्रदेश कमिटीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गर्न लागेको ‘उज्यालो मिसन मधेस प्रदेश : स्थानीय निर्वाचनका लागि उम्मेदवार तयारी अभियान’ बारे मधेस प्रदेश अध्यक्ष रामकिशोर सिंह (पराग) ले जानकारी गराएका छन्।
अध्यक्ष सिंहले आफ्नो फेसबुकमार्फत सार्वजनिक सूचना जारी गर्दै स्थानीय तहमा पालिका प्रमुख तथा वडा अध्यक्ष पदमा उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूलाई अभियानमा सहभागी हुन आह्वान गरेका हुन्।
‘सुशासन, समृद्धि, उज्यालो नेपाल’ भन्ने मूल नारासहित अघि बढाइएको यस अभियानमार्फत स्थानीय तहमा नेतृत्व गर्न इच्छुक तथा योग्य व्यक्तिहरूलाई निर्वाचनको तयारी, चुनावी रणनीति, जनसम्पर्क तथा प्रचारप्रसार, कानुनी जानकारी र नेतृत्व विकाससम्बन्धी तालिम एवं मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखिएको अध्यक्ष सिंहले जानकारी गराएका छन्।
अभियानले स्थानीय तहमा सक्रिय, शिक्षित, जिम्मेवार र नेतृत्व गर्न इच्छुक युवाहरूलाई अवसर प्रदान गर्दै राजनीतिमा सहभागिता बढाउने लक्ष्य लिएको छ। पालिका प्रमुख तथा वडा अध्यक्ष बन्न इच्छुक व्यक्तिहरूलाई समयमै प्रक्रिया अघि बढाउन पनि आग्रह गरिएको छ।
इच्छुक व्यक्तिहरूले पार्टीको आधिकारिक वेबसाइट www.unp.org.np मा लगइन गरी सदस्यता तथा उम्मेदवारीसम्बन्धी अनलाइन फारम भर्न सक्नेछन्। थप जानकारी तथा सहजीकरणका लागि सम्बन्धित जिल्लाका जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य वा प्रदेश पदाधिकारीसँग सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।
त्यसैगरी, इच्छुक व्यक्तिहरूले आफ्नो पालिका र वडा स्पष्ट उल्लेख गरी WhatsApp नम्बर 9712025177 वा 9855001177 मा सन्देश पठाएर थप जानकारी लिन सक्नेछन्।
अध्यक्ष सिंहले ‘नयाँ सोच, सक्षम नेतृत्व र उज्यालो भविष्य’ को परिकल्पनासहित मधेस प्रदेशमा स्थानीय नेतृत्व विकास, सुशासन र समृद्धिको लक्ष्य अघि बढाउन इच्छुक तथा योग्य व्यक्तिहरूलाई यस अभियानमा सहभागी हुन आग्रह गरेका छन्।