काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्रराय यादवले आन्तरिक लोकतन्त्रको अभावमा कम्युनिस्ट पार्टीहरू विभाजन हुने गरेका बताएका छन्।
अब बन्ने पार्टी सामाजिक न्यायको आधारमा अघि बढ्नुपर्ने प्रस्ट पार्दै उनले भने, ‘कम्युनिस्ट पार्टीको विभाजनको मूल कारण भनेको आन्तरिक लोकतन्त्रको अभाव हो।’
नेपाली कम्युनिस्ट पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै यादवले कम्युनिस्ट पार्टीहरूमा भेदभाव र पक्षपात हुने गरेको बताए। ‘मलाई लाग्छ अब घोषणा हुने पार्टीमा भेदभाव हुँदैन। आन्तरिक लोकतन्त्र, समानुपातिक समावेशी नेतृत्वको विकास हुनेछ,’ उनले भने।
नेपालको संविधानलाई समाप्त गर्न पुनरुत्थानवादी र प्रतिगामी शक्तिहरू सल्बलाएका बताउँदै यादवले प्राप्त उपलब्धि रक्षा गर्न एकतामा आएको जिकिर गरे।