बारा । सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रियालाई सहज, सुरक्षित र व्यवस्थित बनाउन बाराको पचरौता नगरपालिकाले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।
नगर प्रमुख जलन्धर सिंहज्यूको विशेष पहलमा भोलिदेखि सञ्चालन हुने उक्त सेवाबाट ज्येष्ठ नागरिक, विधवा तथा एकल महिला, अपाङ्गता भएका व्यक्ति लगायत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ।
नगरपालिकाका अनुसार वडा नं. १ देखि ९ सम्मका सबै वडाका सेवाग्राहीले उक्त निःशुल्क बस सेवाको सुविधा लिन सक्नेछन्। सामाजिक सुरक्षा भत्ता लिन जाने क्रममा सेवाग्राहीले भोग्नुपर्ने यातायातसम्बन्धी असुविधालाई कम गर्ने उद्देश्यले यो व्यवस्था गरिएको हो।
नगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न जाने सम्पूर्ण सेवाग्राहीलाई निःशुल्क बस सेवाको अधिकतम उपयोग गर्न आग्रह गरेको छ।
यस सेवाले विशेषगरी ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई भत्ता लिन आउजाउ गर्न सहज हुने विश्वास गरिएको छ।