जिराभवानी । जीराभवानी मन्दिरमा लागेको त्रयोदशीको साउने मेला आज देखि विधिवत् समापन भएको छ । हरेक वर्ष साउन महीनाको शुक्लपक्षको त्रयोदशीको दिन लाग्ने मेला यस वर्ष आज सम्पन्न भएको हो ।
आज मेलामा परासी जिल्ला र भारतको पश्चिमी चम्पारणको दोसाँधमा पर्ने पवित्र तीर्थस्थल त्रिवेणीधामबाट जल भरेर काँवरियाहरूले जीराभवानी मन्दिरमा बटेश्वरनाथ बाबालाई चढाएका हुन । जीराभवानी काँवरिया सङ्घको आयोजनामा काँवरियाहरू साउन १५ गते प्रस्थान गरी त्रिवेणीधामबाट जल भरी पाँच दिनको पैदल यात्रापछि आज बिहान जीराभवानी मन्दिरको बटेश्वरनाथ बाबालाई जल चढाएका हुन् ।
सो यात्रामा जीराभवानी गापा अन्तर्गत सेढवा, जीतपुर, नौकाटोला, परसवा, महादेवपट्टी, पकडीटोला, जगतिया, गम्हरिया, भवानीपुर, वसन्तपुर, काठमाडौंटोल, हरैया, सखुवनिया, शङ्करसरैया, कोढौली, सढी, सुपौली र जगरनाथपुर गापा अन्तर्गतका पिडारी, पिपडाँढी तथा छिमेकी भारतका सिस्वा, धुमाटाड जसौली, रामपुर लगायतबाट करीब ८०९ जना काँवरिया सहभागी थिए ।
काँवरियाहरूले जल भरी गण्डक नहरको भारतीय बाटो भएर नौतनवा, बेलसन्ठी, शुभद्रा र धुमाटाडमा बास बसेर आज जीराभवानी मन्दिरमा पुगी विधिपूर्वक जल चढाएका हुन् । कावरिया बमको लागि विभिन्न ठाउँको गाउँमा जिराभवानी गाउँपालिका वार्ड नम्बर १ का स्थानीय गायक नेपाली निरहुवाले आफ्नो संगीतले कावरिया बमहरुलाई झुमाएको थियो।
काँवरियाहरूको स्वागत गर्न जीराभवानी गापाध्यक्ष अनोज चौधरी, उपाध्यक्ष रेखा चौधरीलगायतका स्थानीय जनप्रतिनिधिहरूको सहभागिता थियो । गाउँपालिकाले काँवरियाहरूको लागि काँवरसहित खाजा, पानी र विश्रामस्थलको व्यवस्थापन गरेको थियो ।