पर्सा । पर्सा जिल्लाको ठोरी–४, निर्मलबस्तीमा निर्माण भएको खानेपानी आयोजनाको उद्घाटन भएको एक महिना बितिसक्दा पनि स्थानीय बासिन्दाले पानी पिउन पाएका छैनन् । गत साउन महिनाको ९ गते खानेपानी मन्त्री माननीय प्रदीप यादवको प्रमुख आतिथ्यतामा तामझामसहित निर्मलबस्ती खानेपानी आयोजना उद्घाटन गरेका थिए ।
उक्त समारोहमा मन्त्री यादवले धारा खोलेर फोटो खिचाए र जनतालाई शुद्ध पिउने पानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, एक महिना बितिसक्दा पनि आयोजना सञ्चालनमा नआउदा स्थानीयवासी निराश छन् । स्थानीय युवाहरूले प्रश्न गर्न थालेका छन्, “के शिलालेखमा नाम लेखाउन मात्र हतार गरेको थियो?” यो प्रश्नले उद्घाटनको औचित्य र आयोजनाको प्रगतिमाथि गम्भीर प्रश्न खडा गरेको छ ।
सामान्यतया परियोजना पूर्ण रूपमा सम्पन्न भएर जनतालाई सुविधा प्रदान गर्ने अवस्थामा उदघाटन गरिन्छ। तर, यहाँ अधुरो आयोजनाको उद्घाटन गरिएको थियो, जसले मन्त्रीको भूमिकालाई “मिडिया शो” र “फोटो सत्र” को रूपमा चित्रण गरेको छ । स्थानीयवासीले उद्घाटनपछि तत्काल पानीको सुविधा पाउने अपेक्षा गरेका थिए, तर परिणाम शून्य रहँदा उनीहरूको विश्वासमा ठेस पुगेको छ ।
आयोजनाको लागि ठोरी–४, शिखरटोल निवासी युवा समाजसेवी जित बहादुर पाख्रीनले जग्गा दान गरेका थिए । उनको यो योगदानलाई आयोजनाका जिम्मेवार निकाय र स्थानीय सरकारले पूर्ण रूपमा बेवास्ता गरेको छ, जुन स्थानीयवासीले अत्यन्तै आपत्तिजनक ठानेका छन् । उदघाटनको समयमा उनी बिरामी भएर अस्पतालमा उपचाररत थिए, तर न त स्थानीय सरकारले न त आयोजनाका जिम्मेवार व्यक्तिहरूले उनको अवस्थाबारे खोजखबर नै गरे ।
साधारण धन्यवाद समेत दिन कसैले आवश्यक ठानेनन् । यो व्यवहारलाई स्थानीयवासीले दानकर्ताप्रतिको सरासर अपमानको रूपमा लिएका छन् ।अधुरो आयोजनाको उद्घाटन स्थानीयवासीको दृष्टिकोणमा नाटक र प्रचारको साधन मात्र बनेको र दानकर्ताप्रति गरिएको बेवास्ताले सरकारी निकायको संवेदनशीलता माथि प्रश्न उठेको छ ।