जिराभवानी । ठोरी -४ मा रहेको निर्मल ठोरी साना किसान कृषि सहकारी संस्था लि.को तेस्रो वार्षिक साधारणसभा तथा व्यवस्थापन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार संस्थाको कार्यालय विशालचोकमा सम्पन्न साधारण सभाले संस्थाको सम्पूर्ण व्यवस्थापन जिम्मेवारी निर्मल ठोरी कृषि सहकारी संस्थामा हस्तान्तरण गरेको छ । यस अघि संस्था साना किसान कृषि संस्थाको केन्द्रीय समितिमा आबद्ध रहि सन्चालन हुंदै आएको थियो। तेस्रो साधारण सभामा साना किसानको केन्द्रीय समिति , सो सहकारी र साना किसान विकास लघुवित्त वित्तीय संस्थाबिच त्रीपक्षीय सम्झौता समेत भएको संस्थाका अध्यक्ष खगेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । औपचारिक घोषणा समेत गरेको छ । सम्झौता पश्चात सो सहकारीलाई साना किसान लघुवित्त संस्थाबाट प्राविधिक सहयोग प्राप्त हुने, आर्थिक व्यवस्थापन, तालिम, भवन, कर्मचारी व्यवस्थापनलगायत विभिन्न क्षेत्रमा सहयोग हुने सभामा जानकारी गराइएको छ ।


सहकारी महासंघका केन्द्रीय उपाध्यक्ष तथा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका केन्द्रीय अध्यक्ष खेम बहादुर पाठक प्रमुख अतिथि रहनुभएको कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ विशिष्ट अतिथि साथै विभिन्न क्षेत्रका अतिथि, कर्मचारी, सञ्चालक समिति, लेखा समिति तथा संस्थाका सम्पूर्ण सदस्यहरूको उल्लेखनीय सहभागिता थियो । सो संस्थाका अध्यक्ष खगेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीको जान हासिल गरेर मात्र सहकारीमा आबद्ध हुन सदस्यहरुसंग आग्रह गरेका थिए । सहकारीको बारेमा जानकारी नहुँदा कहिलेकाहीँ सहकारीका बारेमा भ्रम सिर्जना हुने गरेकोले सहकारीको बारेमा बुझ्न पर्नेमा जोड दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि पाठकले सहकारीको दिगो विकास, पारदर्शिता र सदस्य–केन्द्रित सेवामा जोड दिनुहुँदै व्यवस्थापन हस्तान्तरणले संस्थालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नु भयो। यस्तै ठोरी गापा अध्यक्ष श्रेष्ठले स्थानीय किसान र साना उद्यमीहरूको आर्थिक सशक्तीकरणमा सहकारीको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा गाउँपालिकाको तर्फबाट आवश्यक सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
२०७९ फागुन १ देखि सन्चालनमा आएको सो सहकारीले पछिल्लो समय किसान हकहितका क्षेत्रमा मलखाद वितरण , अनुदानमा कृषि बिउ विजन वितरण जस्ता कार्यहरु गर्दै आइरहेको छ ।