जिराभवानी । पर्साको जिराभवानी गाउँपालिका–५ निवासी विकाउ भण्डारी चौधरीले आफूमाथि लागेको ठगीको आरोप निराधार रहेको दाबी गर्नुभएको छ। बुधबार वीरगन्जमा आधा दर्जन पत्रकारहरूसँगको भेटघाट तथा पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले आफ्नो कुनै संलग्नता नरहेको विषयमा समाजिक संजालमा समाचार सम्प्रेषण गरेर चरित्र हत्या गरिएको भन्दै गम्भीर आपत्ति जनाउनुभयो।
केही दिनअघि समाजिक संजानल अनलाइन मिडिया लगायतका सामाजिक सञ्जालमा भण्डारी र लक्ष्मी चौधरी मिलेर जिराभवानी–४ का हेम नारायण राय थारुलाई ठगी गरेको समाचार सार्वजनिक भएको थियो। उक्त समाचारमा सर्वोच्च अदालतमा विचाराधीन रहेको जग्गाको मुद्दा जिताइदिने भन्दै ६० लाख रुपैयाँको कपाली तमसुक गराएको र १० कठ्ठा जग्गा माग गरेको आरोप लगाइएको थियो।
आफूमाथि लागेका आरोपहरूको खण्डन गर्दै बिकाउ भण्डारीले भन्नुभयो:
"मेरो प्रतिक्रिया नै नलिई, निहित स्वार्थका कारण मलाई दोषी देखाउन खोजिएको छ। उक्त घटना र लेनदेनमा मेरो कुनै पनि हात छैन। सत्यतथ्य नबुझी मेरो मान-सम्मानमा चोट पुग्ने गरी समाचार फैलाइएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ।"
यस विषयमा थप जानकारी लिनका लागि लक्ष्मी देवी र आरोप लगाउने पक्षका हेम नारायण राय थारु (देवनारायण) सँग सम्पर्क गर्ने प्रयास गर्दा उनीहरूको फोन लाग्न सकेन। उनीहरूको घरमा बुझ्न जाँदा समेत कोही पनि नभेटिएको बुझिएको छ।
पीडित भनिएका पक्षले यसअघि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिँदै छानबिनको माग गरेका थिए। तर, आरोपित भण्डारीले भने आफूलाई नियोजित रूपमा फसाउन खोजिएको दाबी गर्दै आएका छन्।