वीरगञ्ज । पर्सा जिल्लामा वैशाख महिनामै भूमिगत जलस्तर तीव्र रूपमा घटेपछि खानेपानीको समस्या गम्भीर बन्दै गएको छ। लामो समयदेखि प्रयोगमा रहेका चापाकलहरू सुकेर पानी आउन छाडेपछि सहरी तथा ग्रामीण बासिन्दा दैनिक जीवन चलाउनै कठिनाइ भोग्न बाध्य भएका छन्।
विशेषगरी वीरगञ्ज महानगरपालिका अन्तर्गतका रानीघाट, छपकैया, नगवा र मुडली क्षेत्रमा पानी अभावले चरम रूप लिएको छ। ती क्षेत्रमा रहेका अधिकांश चापाकलहरूले काम गर्न छाडेका छन् भने केहीमा धमिलो पानी आउने वा हावा मात्रै निस्कने समस्या देखिएको स्थानीयले बताएका छन्। यसले गर्दा सर्वसाधारणहरू खानेपानीको जोहो गर्न छिमेकीको डिप बोरिङ वा टाढाका सार्वजनिक धारा धाउन बाध्य छन्।
स्थानीय बासिन्दाका अनुसार विगतका वर्षहरूमा जेठ–असारतिर मात्र देखिने समस्या यसपटक वैशाखमै सुरु भएको हो। यसले पानी संकटको अवस्था झनै भयावह बन्दै गएको संकेत गर्दछ।
विज्ञहरूका अनुसार तराई क्षेत्रमा भूमिगत पानी पुनर्भरण (रिचार्ज) हुने प्रमुख स्रोत चुरे र भावर क्षेत्र हुन्। तर, चुरे क्षेत्रमा भइरहेको अव्यवस्थित दोहन, वन विनाश, जथाभावी सडक निर्माण तथा ढुङ्गा–गिट्टी–बालुवाको अत्यधिक उत्खननका कारण पानी जमिनमुनि सञ्चित हुने प्रक्रिया कमजोर बन्दै गएको छ। यही कारण जलस्तर अस्वाभाविक रूपमा तल झरेको बताइन्छ।
यस वर्ष खेतीपाती सुरु नहुँदै चापाकल सुक्नुले जलवायु परिवर्तनको प्रभाव समेत स्पष्ट देखिएको छ। सामान्यतया सिँचाइका लागि अत्यधिक पानी प्रयोग हुने समयमा मात्रै यस्तो समस्या देखिने भए पनि अहिले समयअगावै संकट देखा परेको हो।
खानेपानी संस्थानको पाइपलाइन पुगेका केही घरमा सीमित राहत भए पनि विपन्न तथा चापाकलमा निर्भर परिवारहरू सबैभन्दा बढी प्रभावित भएका छन्। बढ्दो पानी संकटलाई मध्यनजर गर्दै स्थानीय प्रशासन र सम्बन्धित निकायले दीर्घकालीन समाधानतर्फ ठोस कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।