काठमाडौं । सुकुमवासी बस्ती खाली गराउने सरकारी निर्णयको विरोधमा काठमाडौंको थापाथली क्षेत्र तनावग्रस्त बनेको छ। स्थानीय बासिन्दा तथा युवाहरू सडकमा उत्रिएर सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन्।
प्रदर्शनकारीहरूले “डोजर आतंक बन्द गर”, “आवासको हक सुनिश्चित गर”, “निरंकुशता स्वीकार्य छैन” जस्ता नारा लगाउँदै सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्। राष्ट्रिय जेनजी नागरिक अभियानको अगुवाइमा सुरु भएको विरोध कार्यक्रमलाई थप विस्तार गर्दै माइतीघर मण्डलासम्म र्याली निकाल्ने तयारी समेत गरिएको छ।
सरकारले थापाथली, शंखमूल, शान्तिनगर र मनोहरा क्षेत्रका सुकुमवासी बस्ती खाली गराउन पहल थालेपछि स्थानीयहरू आक्रोशित भएका हुन्। बिहीबार साँझदेखि प्रशासनले माइकिङमार्फत् बस्ती खाली गर्न सूचना दिएपछि केही परिवारले आफ्नो सामान सार्न थालेका छन् भने कतिपयले निर्णयको अवज्ञा गर्दै बस्ती नछाड्ने अडान लिएका छन्।
सरकारमा जानुअघि सुकुमवासी बस्तीको पक्षमा आवाज उठाउने नेताहरू अहिलेको निर्णयसँग जोडिएपछि प्रदर्शनकारीहरूले उनीहरूलाई नै लक्षित गर्दै आलोचना गरिरहेका छन्। विशेषगरी, अघिल्लो अभिव्यक्तिको स्मरण गराउँदै विरोधमा उत्रिएका युवाहरूले प्रत्यक्ष जवाफदेहिता माग गरेका छन्।
प्रधानमन्त्रीको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा निकायसँग समन्वय गर्दै बस्ती हटाउने प्रक्रिया अघि बढाएको हो। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले डोजर चलाउने निर्णय गरेको थियो।
प्रशासनले पहिलो चरणमा काठमाडौं उपत्यकाका चार प्रमुख सुकुमवासी बस्ती खाली गराउने योजना सार्वजनिक गरिसकेको छ। तर, प्रभावित बासिन्दा र अधिकारकर्मीहरूले यसलाई बलपूर्वक विस्थापनको प्रयास भन्दै विरोध जनाइरहेका छन्।
देशभर करिब १२ लाख भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासी रहेको अनुमान छ। यस सन्दर्भमा उचित व्यवस्थापन र दीर्घकालीन समाधानबिना गरिएको कदमले सामाजिक तनाव थप बढाउने चिन्ता व्यक्त गरिएको छ।