सिन्धुली । प्रहरी हिरासतमा एक दलित युवकको मृत्यु भएपछि सिन्धुलीमा राजनीतिक तथा सामाजिक तरंग तीव्र बनेको छ। घटनाको निष्पक्ष छानबिनको माग गर्दै विभिन्न सांसदहरू जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसेका छन्।
सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको गत ७ वैशाखमा प्रहरी हिरासतमा मृत्यु भएको घटनालाई लिएर पीडित परिवार, अधिकारकर्मी तथा राजनीतिक प्रतिनिधिहरू आन्दोलित बनेका हुन्। उनीहरूले घटनालाई आत्महत्या मात्र मान्न नसकिने भन्दै संसदीय छानबिनको माग गरेका छन्।
रास्वपासँग आबद्ध सांसदहरू खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुस्मा स्वर्णकार, गणेश विक, खिमा विश्वकर्मा र आशिष गजुरेलले जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना दिँदै सम्बन्धित जिम्मेवार अधिकारीहरूमाथि कारबाहीको माग अघि सारेका छन्। उनीहरूले प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, इलाका प्रहरी कार्यालय खुर्कोटका इन्स्पेक्टर तथा ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई निलम्बन गर्नुपर्ने अडान लिएका छन्।
प्रहरीले भने विकले हिरासतभित्रै आत्महत्या गरेको दाबी गरेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार उनले शौचालयको झ्यालमा कपडाको पासो लगाएर ज्यान दिएको बताइएको छ। तर, परिवारले उक्त दाबी अस्वीकार गर्दै घटनालाई रहस्यमय र शंकास्पद भन्दै आएका छन्।
पीडित परिवारका अनुसार १६ वर्षीया किशोरीसँग प्रेमविवाह गरेपछि विकमाथि बलात्कारको आरोप लगाई पक्राउ गरिएको थियो। परिवारले यो आरोप योजनाबद्ध रूपमा लगाइएको दाबी गर्दै हिरासतभित्र उनीमाथि दबाब र दुर्व्यवहार भएको हुन सक्ने आशंका व्यक्त गरेका छन्।
घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन भई काम सुरु भइसकेको छ। साथै, राष्ट्रिय दलित आयोगको केन्द्रीय टोलीसमेत घटनास्थलतर्फ प्रस्थान गरेको जनाइएको छ।
घटनापछि सिन्धुलीमा दलित अधिकारकर्मीहरूले प्रदर्शन गर्दै न्यायको माग गरिरहेका छन् भने परिवारले पारदर्शी र निष्पक्ष छानबिन बिना पोस्टमार्टम गर्न नदिने अडान लिएको छ।
यस घटनाले हिरासतभित्रको सुरक्षा, मानवअधिकार र न्यायिक प्रक्रियामाथि गम्भीर प्रश्न खडा गरेको छ।