वीरगन्ज । वीरगन्ज महानगरपालिकाले सहरका ठूला नाला तथा ढलको सफाइ अभियान पुनः सुरु गरेको छ। मेयर राजेशमान सिंहको निर्देशन तथा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको समन्वयमा महानगरपालिकाले बुधबारदेखि सफाइ अभियान थालेको हो।
सहरका नाला तथा ढलमा जम्मा भएको फोहोर हटाई वर्षाको पानीको निकास सहज बनाउने, दुर्गन्ध नियन्त्रण गर्ने र सहरलाई सफा तथा व्यवस्थित बनाउने उद्देश्यले अभियान सुरु गरिएको महानगरपालिकाले जनाएको छ। सफाइका क्रममा महानगरपालिकाका सरसफाइ कर्मचारीले डुङ्गाको सहायताले ठूला नाला तथा ढलमा जमेको फोहोर हटाउन थालेका छन्।
नाला तथा ढलमा फोहोर थुप्रिँदा पानीको निकासमा अवरोध हुनुका साथै आसपासको वातावरण प्रदूषित हुने समस्या देखिएकाले सफाइ अभियान पुनः सञ्चालन गरिएको मेयर सिंहले बताए।
उनले वीरगन्जलाई सफा, सुन्दर र व्यवस्थित सहर बनाउनु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै सरसफाइ, नाला व्यवस्थापन तथा वातावरण संरक्षणका कामलाई प्रभावकारी बनाउन स्थानीय संघसंस्था, प्रहरी प्रशासन र नगरवासीबीच सहकार्य आवश्यक रहेको बताए।
मेयर सिंहले सफाइ अभियानलाई निरन्तरता दिँदै सार्वजनिक स्थान तथा नालाहरूलाई सफा र व्यवस्थित राख्न सबै पक्षले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
बुधबारदेखि सुरु भएको अभियानको पहिलो दिन मेयर सिंहसँगै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्की, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदी, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान तथा सर्फुदिन मियाँलगायतको उपस्थिति रहेको थियो।