काठमाडौं । झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४० ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरिएको हो ।
भारतबाट खैरो हेरोइन ल्याएर कोशी प्रदेशका विभिन्न जिल्लामा आपूर्ति गर्ने गिरोहको निगरानी गर्ने क्रममा बुधबार लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
भारतको कुतुवाभिट्टाबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका उनीहरूलाई प्रहरीले लागुऔषध कारोबारीका रूपमा पहिचान गरेको थियो । त्यसपछि उनीहरू पुनः भारततर्फ भाग्न खोजेपछि प्रहरीले चेतावनीस्वरूप दुई राउण्ड हवाई फायर गरी नियन्त्रणमा लिएको ब्यूरोले जनाएको छ ।
पक्राउ पर्नेमा झापा गाउँपालिका–१ का ३० वर्षीय सलमान मिया र ३६ वर्षीय नसिम अक्तर मिया रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट १५०.१४० ग्राम खैरो हेरोइन, नेपाली नम्बर प्लेटको मे ७ प ३ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल,भारतीय नम्बर प्लेटको बीआर ३७ एए ५३८० नम्बरको होन्डा साइन मोटरसाइकल र दुई थान मोबाइल बरामद गरेको छ ।
पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कुमरखोद,झापामा बुझाइएको ब्यूरोले जनाएको छ ।