जिराभवानी । पर्साको ग्रामीण भेगमा पर्ने जानकीटोला, असवारी, पाण्डेपुर लगायतका नाकाबाट लत्ताकपडा, भैँसी तथा कुखुराको चल्लाको तस्करी व्यापक रूपमा भइरहेको भन्दै गुनासो बढ्न थालेको छ। पर्साको जानकीटोला नाका यतिबेला तस्करहरूको सुरक्षित मार्ग बन्दै गएको आरोप सार्वजनिक भएको छ।
स्थानीयवासी तथा सीमाक्षेत्रका व्यापारीहरूका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीकै संरक्षणमा व्यापक रूपमा तस्करी तथा हुण्डी कारोबार सञ्चालन भइरहेको छ। भारतसँग जोडिएको उक्त नाकाबाट कपडा, हार्डवेयर सामग्री, कुखुराको चल्ला, भैँसी, गाई, गोरु तथा कस्मेटिक सामानदेखि हुण्डीसम्मको अवैध कारोबार खुलेआम भइरहेको स्थानीयहरूको दाबी छ।
तस्करीमा संलग्न समूहहरूले बिहान, बेलुका, दिउँसो तथा रातिको समयमा समेत सहज रूपमा मालसामान नेपाल भित्र्याइरहेको आरोप लगाइएको छ। सीमावर्ती क्षेत्रका बासिन्दाहरूले इलाका प्रहरी कार्यालय जानकीटोला तथा सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरको संरक्षणमै तस्करी मौलाएको दाबी गरेका छन्।
स्थानीयका अनुसार अवैध रूपमा भित्रिएको सामान डकैला, बहुअर्वा तथा बढनिहार हुँदै जितपुर बजारसम्म निर्वाध रूपमा पुग्ने गरेको छ। प्रहरी चौकी जानकीटोलाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) अर्जुन पण्डितमाथि समेत स्थानीयले गम्भीर आरोप लगाएका छन्। उनी कार्यालयमा आएपछि तस्करी झन् बढेको स्थानीय स्रोतको दाबी छ।
स्रोतहरूका अनुसार प्रहरी संगठनकै नाम प्रयोग गर्दै रकम असुली गरी तस्करीका लागि “लाइन” दिइने गरिएको आरोपसमेत रहेको छ। नाम नछाप्ने सर्तमा एक व्यापारीले रातिको समयमा तस्करीको सामान “स्कर्टिङ” गरेर पार गराउने कामसमेत हुने गरेको बताएका छन्।
अर्का एक स्थानीयका अनुसार सर्वसाधारणले सामान्य सामान ल्याउँदा कडाइ हुने गरे पनि ठूलो परिमाणको तस्करी भने सहज रूपमा भइरहेको छ। स्थानीयहरूले साना व्यापारी र सर्वसाधारणमाथि कडाइ गरिए पनि ठूला तस्करहरूसँग मिलेमतो गरी लाखौँ रुपैयाँ असुली गरेर अवैध कारोबार सञ्चालन गराइएको आरोप लगाएका छन्।
शान्ति सुरक्षाका लागि खटिने नेपाल प्रहरी नै चोरी–तस्करीमा संलग्न हुन थालेपछि तस्करी बढ्नु स्वाभाविक भएको भन्दै स्थानीयहरूले आक्रोश व्यक्त गरेका छन्। खुला सीमाको फाइदा उठाउँदै सुरक्षाकर्मीहरूसँग मासिक नजराना वा सेटिङ मिलाएर अवैध मालसामान ओसारपसार भइरहेको स्थानीय बासिन्दाहरूको आरोप छ।
पर्सामा सबैभन्दा बढी कुखुराको चल्ला तथा भैँसी, गाई–गोरुको तस्करी हुने नाका जानकीटोला रहेको स्थानीयहरूको भनाइ छ। जानकीटोला चौकीको संरक्षणमा रातभरि २० देखि २५ वटा साइकल तथा मोटरसाइकल प्रयोग गरी भारतबाट नेपालमा कुखुराको चल्ला भित्र्याइ विभिन्न कुखुरा फर्मसम्म पुर्याइने गरिएको आरोपसमेत स्थानीयले लगाएका छन्।
यस विषयमा प्रतिक्रिया लिन प्रहरी चौकी जानकीटोलाका सई अर्जुन पण्डितलाई चौकीको नम्बर ९८५५०९०७३३ मा सम्पर्क गर्ने प्रयास गरिएको भए पनि फोन सम्पर्क हुन सकेन।
घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न स्थानीयहरूले माग गरेका छन्।