जिराभवानी । डिभिजन वन कार्यालय पर्साले ‘समृद्धिका लागि वन परियोजना’ अन्तर्गत जिराभवानी गाउँपालिका–४ स्थित ऐलानी जग्गामा तारबारसहित वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। ऐलानी जग्गाको संरक्षण, हरियाली विस्तार तथा वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिनुका साथै संरक्षणका लागि तारबारसमेत गरिएको कार्यालयले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले वन तथा वातावरण संरक्षण आजको आवश्यकता भएको उल्लेख गर्दै वृक्षारोपणले जलवायु परिवर्तनका असर न्यूनीकरण, जैविक विविधताको संरक्षण तथा भावी पुस्ताका लागि स्वच्छ र स्वस्थ वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
उनले रोपिएका बिरुवाको दीर्घकालीन संरक्षणमा स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमदले सरकारी तथा ऐलानी जग्गाको संरक्षणसँगै हरियाली विस्तार गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। उनले वृक्षारोपण मात्र नभई रोपिएका बिरुवाको नियमित संरक्षण, हेरचाह र व्यवस्थापनमा पनि विशेष ध्यान दिइने बताए।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्री, स्थानीय जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।
गादीमाई साझेदारी वन व्यवस्थापन समूहका अध्यक्ष सहरुम राउत गदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरूले संयुक्त रूपमा बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरेका थिए।
आयोजकका अनुसार वन क्षेत्र विस्तार, खाली तथा ऐलानी जग्गाको संरक्षण, हरियाली प्रवर्द्धन, भू–क्षय नियन्त्रण तथा स्वच्छ वातावरण निर्माणका लागि आगामी दिनमा पनि यस्ता वृक्षारोपण तथा संरक्षणमुखी कार्यक्रमलाई निरन्तरता दिइनेछ। कार्यक्रमले वातावरण संरक्षणप्रति स्थानीय समुदायमा जनचेतना अभिवृद्धि गर्नुका साथै वन संरक्षणमा सामुदायिक सहभागिता बढाउने अपेक्षा गरिएको छ।