कलैया । बाराको करैयामाई गाउँपालिका–३ मा इँटा उद्योगले माटो खनेर छाडेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
बुधबार साँझ करिब ५ बजे करैयामाई गाउँपालिका–३ गालोपट्टी निवासी शिवनारायण चौधरीकी ११ वर्षीया छोरी रोशनी चौधरी बाख्रा चराउन गएका बेला गौतम इँटा उद्योग परिसरनजिक रहेको पानी जमेको खाल्डोमा डुबेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिनुभयो।
बालिका हराएको जानकारी पाएपछि स्थानीयले खोजी गर्ने क्रममा खाल्डोको पानीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै गञ्जभवानीपुर प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय बाराबाट अनुसन्धान अधिकृतसहितको टोली घटनास्थल पुगेको थियो। प्रहरीले मुचुल्का तयार गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैया पठाएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
यता, करैयामाई गाउँपालिका–३ का वडाध्यक्ष प्रशुराम यादवले इँटा उद्योग तथा निर्माण प्रयोजनका लागि खनिएका खाल्डा खुला अवस्थामा छाडिँदा वर्षायाममा पानी भरिने र त्यसबाट बर्सेनि बालबालिकासहित सर्वसाधारणको ज्यान जोखिममा पर्ने गरेको बताउनुभयो।
उहाँले यस्ता खाल्डालाई तत्काल सुरक्षित बनाउन, घेराबार गर्न र चेतावनी बोर्ड राख्न सम्बन्धित निकायसँग माग गर्नुभयो।
वर्षायाममा पानी भरिएका खुला खाल्डा, पोखरी तथा नदी–नालाको आसपास बालबालिकालाई एक्लै जान नदिन र जोखिमयुक्त स्थानको उचित व्यवस्थापन गर्न सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्ने आवश्यकता यस घटनाले पुनः उजागर गरेको छ।