जिराभवानी । गाउँ र विदेशमा रहेका युवाको सहकार्यमा ठोरी ५ आठघरे मा सडक बत्ती जडान सम्पन्नपर्सा जिल्ला को ठोरी गाउँपालिका–५ अन्तर्गत पर्ने आठघरे गाउँमा गाउँ र विदेशमा रहेका युवाहरूको संयुक्त पहल, आर्थिक सहयोग, श्रमदान तथा समन्वयमा सडक बत्ती जडान गर्ने कार्य सफलतापूर्वक सम्पन्न भएको छ।आफ्नो गाउँ आफैं बनाऔं’ अभियानअन्तर्गत सामूहिक प्रयासमा उक्त कार्य सफल भएको छ ।
लामो समयदेखि सडक बत्तीको अभावका कारण रातिको समयमा आवतजावतमा असहजता, अन्धकार तथा विभिन्न जोखिमहरू रहने समस्या थियो। यही आवश्यकतालाई मध्यनजर गर्दै ‘आफ्नो गाउँ आफैं बनाऔं’ अभियानअन्तर्गत गाउँ र विदेशमा रहेका आठघरेवासी युवाहरू एकजुट भएर यो अभियान सञ्चालन गरेका हुन्।
अभियानअन्तर्गत गाउँका विभिन्न स्थानमा सडक बत्ती जडान गरिएको छ। यसबाट रातिको आवतजावत थप सुरक्षित र सहज हुने, गाउँको वातावरण व्यवस्थित बन्ने तथा स्थानीयवासीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ।
यस अभियानमा ठोरी ५ को वडा बाट समेत सहयोग प्राप्त भएको थियो भने अन्य प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने गाउँका सम्पूर्ण युवा, विदेशमा रहेका आठघरेवासी, स्थानीयवासी, शुभेच्छुक तथा सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गरिएको छ।
अभियानलाई यहीँ सीमित नराखी आगामी दिनमा गाउँदेखि प्रधानटोल जाने पुल निर्माण, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सरसफाइ लगायतका विकास निर्माणका कार्यहरूमा पनि सबैको सहकार्यलाई निरन्तरता दिँदै गाउँको समग्र विकासका लागि अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
स्थानीय युवाहरूले “गाउँको विकास कुनै एक व्यक्ति वा निकायको जिम्मेवारी मात्र होइन, गाउँमा बस्ने र विदेशमा रहने सम्पूर्ण आठघरेवासीको साझा दायित्व हो” भन्ने सन्देशसहित सामूहिक अभियानलाई निरन्तर अघि बढाउने बताएका छन्।