पर्सा । पर्साको पकाहा मैनपुर गाउँपालिका–३ स्थित श्री राम चरित्र भगत माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक पप्पु प्रसाद चौहानको करिब ६ महिनाको कार्यकालमा विद्यालयको रु. २१ लाख ३१ हजार बराबरको रकम विभिन्न शीर्षकमा हिनामिना भएको आरोप सार्वजनिक भएको छ।
विद्यालय स्रोतका अनुसार चौहानको कार्यकालमा छात्रवृत्ति, रियल क्लास कार्यक्रम, कोचिङ, नागरिक लगानी कोष, कर्मचारी तथा कार्यालय सहयोगीको तलब–भत्ता, टीडीएस, भवन निर्माण, प्रदेश सरकार तथा पालिकाबाट प्राप्त विद्यालय सुधार कार्यक्रम (SIP) लगायत विभिन्न शीर्षकमा प्राप्त रकमको खर्चमा अनियमितता देखिएको थियो।
स्रोतका अनुसार पछिल्लो समय अधिकांश रकमको हिसाब–किताब मिलाइएको भए पनि रु. ४ लाख ८३ हजार बराबरको रकमको स्पष्ट हिसाब अझैसम्म मिल्न सकेको छैन। उक्त रकम कुन प्रयोजनमा खर्च भएको भन्ने पर्याप्त प्रमाण तथा विवरण उपलब्ध नभएको विद्यालय स्रोतको दाबी छ। यस्तै, विद्यालयको अभिलेखमा रहेका तीन वटा ल्यापटपसमेत हराएको जनाइएको छ। ती ल्यापटप कहाँ छन्, कसले प्रयोग गरिरहेको छ वा कसरी हराए भन्ने विषयमा पनि स्पष्ट विवरण प्राप्त हुन नसकेको विद्यालय स्रोतले जनाएको छ।
विद्यालय स्रोतका अनुसार आर्थिक अभिलेख, बैंक कारोबार, बिल, भर्पाई, स्टक रजिस्टर तथा अन्य वित्तीय कागजातको थप परीक्षण आवश्यक रहेको बताइएको छ।
यस विषयमा प्रतिक्रिया लिन तत्कालीन प्रधानाध्यापक पप्पु प्रसाद चौहानसँग सम्पर्क गर्दा उनले उठाएनन् ।