वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले नियन्त्रणमा लिएपछि वीरगञ्जमा आन्दोलन चर्किएको छ। वडाध्यक्षको रिहाइको माग गर्दै मंगलबार महानगरपालिकाका ३२ वटै वडाबाट प्रवाह हुने सेवा पूर्ण रूपमा बन्द गरिएको छ भने वीरगञ्ज–पोखरिया सडकखण्डमा स्थानीयवासीले धर्ना दिँदै सडक अवरुद्ध गरेका छन्। आन्दोलनलाई समर्थन जनाउँदै प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रमेश पटेल पनि धर्नास्थलमा सहभागी भएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार गत शनिबार नारायणी अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि कुटपिटको घटनाको अनुसन्धानका लागि वडाध्यक्ष चतुर्वेदीलाई मंगलबार दिउँसो वीरगञ्ज महानगरपालिका परिसरबाट नियन्त्रणमा लिइएको हो। हाल उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
गत शनिबार नारायणी अस्पतालमा उपचारका क्रममा वीरगञ्ज–२५ का राजकुमार कुर्मीको मृत्यु भएपछि आक्रोशित समूहले अस्पतालमा तोडफोड गर्नुका साथै चिकित्सक डा. प्रमोद राममाथि कुटपिट गरेको आरोप छ। उक्त घटनापछि दोषीमाथि कारबाही र चिकित्सकको सुरक्षाको माग गर्दै वीरगञ्जसहित देशभरका चिकित्सकले उपचार सेवा प्रभावित हुने गरी आन्दोलन गरिरहेका छन्।
यता, वडाध्यक्ष चतुर्वेदीको पक्राउको विरोधमा वीरगञ्ज महानगरपालिकाका सबै वडाध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै बिना शर्त तत्काल रिहा गर्न माग गरेका छन्। उनीहरूले जननिर्वाचित प्रतिनिधिलाई पक्राउ गर्नु जनप्रतिनिधिको अधिकार र भूमिकामाथिको हस्तक्षेप भएको दाबी गर्दै तत्काल रिहा नगरिए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
विज्ञप्तिमा साउन ९ गते नारायणी अस्पतालमा उत्पन्न भएको परिस्थितिमा वडाध्यक्ष चतुर्वेदी पीडित परिवारको गुनासो सम्बोधन गर्न तथा स्थानीय प्रशासनसँग समन्वय गरी समस्या समाधानको प्रयासमा रहेको उल्लेख गरिएको छ। त्यही क्रममा उनलाई पक्राउ गरिएको भन्दै वडाध्यक्षहरूले यसलाई लोकतान्त्रिक अभ्यासविपरीतको कदम भनेका छन्।
पक्राउको विरोधमा मंगलबार महानगरका ३२ वटै वडा कार्यालयबाट प्रदान गरिने सेवा बन्द गरिएको छ। साथै वीरगञ्ज–पोखरिया सडकखण्डमा स्थानीयवासीले धर्ना दिँदै सडक अवरुद्ध गरेका छन्। आन्दोलनमा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रमेश पटेलको समेत सहभागिताले आन्दोलनलाई थप राजनीतिक समर्थन प्राप्त भएको देखिएको छ।
प्रहरी स्रोतका अनुसार नारायणी अस्पताल घटनामा वडाध्यक्ष चतुर्वेदीसहित हालसम्म तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। उता आन्दोलनरत पक्षले पक्राउ परेका वडाध्यक्षलाई तत्काल रिहा गरी संवाद र सहमतिमार्फत समस्या समाधान गर्न स्थानीय प्रशासनसँग आग्रह गरेको छ।