काठमाडौं । घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासत भरिएको छ । अख्तियारले चालकदेखि भेटेरिनरी चिकित्सकसम्मलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
पक्राउ गरेका केहीलाई थुनामा राखेर तथा केहीलाई हाजिरी जमानीमा छाडेर अख्तियारले अनुसन्धान गरिरहेको छ । अख्तियारको हिरासतमा हाल १४ जना छन्, जसमध्ये दुई महिला छन् । अख्तियारको हिरासत भरिएपछि केहीलाई प्रहरीको हिरासतमा राखिएको छ । पछिल्लो समय धेरै स्टिङ अपरेसन भएकाले अख्तियारको हिरासत भरिएको प्रवक्ता सुरेश न्यौपानेले बताए । ‘हाल दुई महिलासहित १४ जना हाम्रो हिरासतमा छन्,’ उनले भने, ‘केहीलाई अन्यत्र हिरासतमा पनि राखिएको छ ।’
पुरानो आर्थिक वर्ष सकिने र नयाँ आर्थिक वर्ष सुरु हुने समयमा सरकारी कार्यालयहरूमा भुक्तानी धेरै हुन्छ । भुक्तानीकै लागि घुस लिएको घटनामा धेरै पक्राउ परेका छन् । अख्तियारका एक अधिकारीका अनुसार आर्थिक वर्षको अन्तिममा भुक्तानी रोकेर कर्मचारीले बार्गेनिङ गर्ने प्रवृत्ति छ । त्यस्ता कर्मचारीबाट हैरान भएका सेवाग्राहीले अख्तियारलाई खबर गरेर पक्राउ गराउँछन् । यसपटक पनि विभिन्न कार्यालयका कर्मचारी पक्राउ परेका छन् । थुनामा रहेकामध्ये १२ सरकारी कर्मचारी छन् भने दुई सर्वसाधारण छन् ।
१० हजारदेखि एक करोडसम्म घुस
अख्तियारले पछिल्लो तीन सातामा १० हजारदेखि साढे सात लाख घुससहित विभिन्न कर्मचारीलाई पक्राउ गरेको छ । सोमबार मात्र वडासचिवलाई घुससहित रंगेहात पक्राउ गर्यो । झापाको गौरीगन्ज गाउँपालिका– १ मा कार्यरत वडासचिव अजय साह १० हजार घुससहित पक्राउ परेका हुन् । सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र जारी गर्नका लागि सेवाग्राहीसँग उनले घुस लिएका थिए । अख्तियार कार्यालय, इटहरीबाट खटिएको टोलीले साहलाई स्थानीय होटेलबाट पक्राउ गरेको हो ।
गत शुक्रबार भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख सिनियर डिभिजनल हाइड्रोजियोलिस्ट अनुपमा ढकाल र मेकानिकल अधिकृत (छैटौँ) तुलाकान्त चौधरी सात लाख ५० हजार घुससहित पक्राउ परेका थिए । बोरिङ र मोटर जडान कामको भुक्तानीका लागि उनीहरूले घुस मागेका थिए । अख्तियारको टोलीले सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुखको क्वार्टरबाट उनीहरूलाई पक्राउ गरेको हो ।
गत शुक्रबार नै काठमाडौं महानगरपालिका– ३० का लेखा अधिकृत (छैटौँ) उद्धव भट्टराई २१ हजार घुससहित पक्राउ परेका थिए । स्थायी लेखा नम्बर बन्द गर्नका लागि वडा कार्यालयबाट दिनुपर्ने सिफारिसका लागि उनले २१ हजार घुस लिएका थिए । अख्तियारको टोलीले उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो ।
त्यस्तै, ७ साउनमा आन्तरिक राजस्व कार्यालय, लहानका कर अधिकृत युवराज एमएस पाल पाँच लाख घुससहित पक्राउ परेका थिए । लेखापरीक्षणको कागजात नमिलेको भन्दै उनले घुस मागेका हुन् । अख्तियारको टोलीले कार्यकक्षबाटै उनलाई पक्राउ गरेको थियो ।
नेपाल टेलिकमका पूर्वअधिकृत गंगादत्त भट्ट र उनका साथी विवेक शर्मा एक करोड घुस लेनदेनको विषयमा छानबिनमा छन्। चिनियाँ ठेकदारसँग खातामै उनीहरूले एक करोड रुपैयाँ घुस लिएको छानबिनमा खुलेको छ । भट्ट टेलिकमकै कर्मचारी हुँदा ठेक्कामा सघाएर घुस लिएका हुन् । पछि पनि दुःख दिएको भन्दै चिनियाँ ठेकदारलाई प्रमाणसहित उजुरी दिएपछि उनी पक्राउ परेको अख्तियार स्रोत बताउँछ ।
गत ३१ असारमा इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर (छैटौँ) डिल्लीराज खड्का ६ लाख घुससहित पक्राउ परेका थिए । पुलको रिडिजाइन स्वीकृत गराइदिएको तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने प्रयोजनका लागि उनले घुस लिएको अख्तियारको दाबी छ । झापाको दमक नगरपालिका– १ स्थित खाजाघरबाट उनलाई आयोगले पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा सो गाउँपालिकाका लेखा अधिकृत मिलनकुमार भट्टराईको समेत मिलेमतो देखिएपछि अख्तियारले उनलाई पनि नियन्त्रणमा राखेको छ ।
२३ असारमा सिराहाको सब–डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख (अधिकृत आठौँ) रामकेवल राय पक्राउ परे । उद्योगका लागि ल्याएका काठ सिलबन्दीअनुसार भए/नभएको रुजु गरी कागजातसहितको फाइल फिर्ता गर्ने क्रममा उनले १२ हजार घुस लिएका थिए । उनको साथबाट स्रोत नखुलेको थप एक लाख ३३ हजार एक सय २० रुपैयाँ पनि बरामद भएको छ ।
२३ असारमा सिराहाको सब–डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख (अधिकृत आठौँ) रामकेवल राय पक्राउ परे । उद्योगका लागि ल्याएका काठ सिलबन्दीअनुसार भए/नभएको रुजु गरी कागजातसहितको फाइल फिर्ता गर्ने क्रममा उनले १२ हजार घुस लिएका थिए । उनको साथबाट स्रोत नखुलेको थप एक लाख ३३ हजार एक सय २० रुपैयाँ पनि बरामद भएको छ ।
सप्तरीको राजविराज नगरपालिका– ३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख (पशु विकास अधिकृत/आठौँ) डा. रामपवित्र दास र हलुका सवारीचालक भोगेन्द्र यादव पनि आयोगको हिरासतमा छन् । उनले भ्याक्सिनेटरहरूबाट सेवा उपलब्ध गराएबापतको पाउनुपर्ने भुक्तानी रकमको २०% कमिसन मागेका थिए । अख्तियारले गत २१ असोजमा डा. दासका सवारीचालक भोगेन्द्र यादवलाई घुसबापतको ३३ हजार ३५० र स्रोत नखुलेको ४८ हजार ७० रुपैयाँसहित पक्राउ गरेको थियो । भोलिपल्ट दासलाई पनि नियन्त्रणमा लिएको हो ।
सरकारी सम्पत्ति हिनामिनामा सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर कल्पना गुरुङ र उनका साथी लीला लामा पनि अख्तियारको हिरासतमा छन् । सशस्त्र प्रहरीद्वारा सञ्चालित कीर्तिपुरस्थित विद्यालयको लेखा अधिकृत हुँदा गुरुङले ११ करोड लामाको खातामा अवैध रूपमा स्थानान्तण गराएकी थिइन् । प्रहरीले सुरुमा दुई साता थुनामा राखी अनुसन्धान गरेर उनीहरूलाई गत शुक्रबार अख्तियारमा बुझाइएको थियो ।