काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लामा हालै विकसित घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, सामाजिक सदभाव र संवादमार्फत समस्या समाधान गर्न संयुक्त अपिल जारी गरेको छ।
बैठकपछि जारी सातबुँदे संयुक्त वक्तव्यमा घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ। साथै घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
दलहरूले नेपालको विविधताबिचको एकता, सहिष्णुता र सामाजिक सदभावलाई कायम राख्न सबै नागरिकलाई संयम अपनाउन आग्रह गरेका छन्। वक्तव्यमा आवेग, हिंसा र मुठभेडले समस्या समाधान नगरी थप जटिलता सिर्जना गर्ने उल्लेख गर्दै सबै पक्षलाई शान्तिपूर्ण संवादमार्फत आफ्ना माग राख्न आह्वान गरिएको छ।
साथै प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी स्थानीय प्रशासन, धार्मिक अगुवा तथा नागरिक समाजसँग समन्वय गरेर विश्वासको वातावरण निर्माण गर्न सम्बन्धित पार्टी संरचनालाई निर्देशन दिइएको छ।
वक्तव्यमा सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना, अफवाह र घृणास्पद अभिव्यक्तिप्रति सचेत रहन आग्रह गर्दै सञ्चारमाध्यमलाई तथ्यपरक र संयमित समाचार सम्प्रेषण गर्न अनुरोध गरिएको छ।
त्यसैगरी, नेपाल सरकारलाई अधिकतम संयमता अपनाई परिस्थितिलाई सामान्य बनाउन, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन ध्यानाकर्षण गराइएको छ।
बैठकमा सहभागी राजनीतिक दलहरूले राष्ट्रिय एकता र सामाजिक सदभावको संरक्षणका लागि आफूहरू एकताबद्ध रहेको जनाउँदै उत्पन्न समस्याको दिगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकार तथा समाजसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसैबिच उक्त संयुक्त वक्तव्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। केही प्रयोगकर्ताले सर्वदलीय पहलको स्वागत गरेका छन् भने केहीले सरकारको कार्यशैली, सेवाप्रवाह र समसामयिक राजनीतिक विषयमा आलोचनात्मक टिप्पणी गरेका छन्। अन्य केहीले बैठकमा विभिन्न राजनीतिक नेतृत्वको सहभागिताबारे पनि प्रश्न उठाएका छन्।