पर्सा । पर्साको पकहाँमैनपुर गाउँपालिकाको कार्यालय बुधबार बिहान करिब ११ बजेसम्म प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न शाखाका प्रमुख कर्मचारी कार्यालयमा उपस्थित नभएको भेटिएको छ।
कार्यालयका अधिकांश शाखा खाली देखिएपछि सेवा लिन आएका नागरिकले कर्मचारीको प्रतीक्षा गर्नुपरेको अवस्था थियो।
स्थलगत अवलोकनका क्रममा प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह, प्रशासन शाखा प्रमुख रमेश मेहता, सब–इन्जिनियर राज चौरसिया, प्राविधिक शाखा प्रमुख इन्जिनियर भोला प्रसाद कलवार तथा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख मनिलाल साह तेली कार्यालयमा उपस्थित थिएनन्।
यस विषयमा प्रमुख जिल्ला अधिकारी भोला दाहालले सार्वजनिक कार्यालयका कर्मचारीले कार्यालय समयको पूर्ण पालना गर्नुपर्ने बताउँदै प्राप्त हुने तथ्यका आधारमा आवश्यक अनुगमन तथा कानुनी प्रक्रिया अघि बढाइने प्रतिक्रिया दिए।
गाउँपालिका अध्यक्ष सुरेश मेहताले कर्मचारीहरूको कार्यालय उपस्थितिको विषयमा आफूले पटक–पटक निर्देशन तथा कारबाहीको प्रक्रिया अघि बढाए पनि अपेक्षित सुधार हुन नसकेको बताए। उनले भने, "मैले पटक–पटक कारबाही गरेको छु, निर्देशन पनि दिएको छु। तर केही कर्मचारीले त्यसलाई गम्भीर रूपमा नलिँदा सेवा प्रवाहमा समस्या देखिएको छ। अब पनि सुधार नभए थप कडा प्रशासनिक प्रक्रिया अपनाइनेछ।"
यता गाउँपालिकाका केही कर्मचारीहरूले नाम नखुलाउने सर्तमा प्रमुख प्रशासकीय अधिकृतको नियमित अनुपस्थितिका कारण कार्यालय सञ्चालन र सेवा प्रवाह प्रभावित हुने गरेको बताएका छन्।
यस सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहसँग प्रतिक्रिया लिन प्रयास गरिए पनि समाचार तयार पार्दासम्म उहाँको प्रतिक्रिया प्राप्त हुन सकेको छैन। उहाँको धारणा प्राप्त भए त्यसलाई पनि समाचारमा समावेश गरिनेछ।