काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। साइबर ब्यूरोमा परेको उजुरीका आधारमा आज दिउँसो भक्तपुर निबासबाट पक्राउ गरेका हुन्।
अहिले उनलाई काठमाडौंस्थित साइबर ब्यूरोको कार्यालयमा लगिँदैछ। प्रसाईंमाथि साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रास्वपा सांसद रचना खतिवडाले प्रतिनिधि सभा बैठकमै आफूमाथि प्रसाईंको नाम नलिई आपत्ति जनाएकी थिइन्।
सांसद खतिवडाले संसदकोबाट बोल्दै आफूलाई ‘छोराको लाससँग सांसद पद साटेको’ भनी लगाइएका अपमानजनक टिप्पणी गरेको बताएकी थिइन्। ‘ मेरो संसार उजाडिएको छ, मेरो काख रितिएको छ। यदि कसैले मेरो छोरालाई जिउँदो ल्याएर मेरो काखमा राखिदिन्छ भने म अहिले नै सांसद पद त्याग्न तयार छु।’ उनले प्रसाईं नाम नलिइ भनेकी थिइन्, ‘म कुनै मेडिकल माफिया बन्न आएकी होइन्, जनतालाई उचालेर लडाउन आएकी होइन। म त एउटी सहिदकी आमा हुँ, जो आफ्नो छोरा जस्ता अरू छोराहरू नमरिउन् भनेर खबरदारी गर्न आएकी हुँ। मेरा पनि सरकारसँग थुप्रै माग छन्, असहमति छन्।’
उनले यस्ता अभिव्यक्ति दिनेप्रति सरकार के हेरेर बसेको छ भन्दै प्रश्न गरेकी थिइन्। स्रोतका अनुसार उनले साइबर ब्युरोमा उजुरी दिएको स्रोतको भनाई छ। उनी पक्राउ पर्दै अदालतको आदेशपश्चात छुट्दै आएका छन्।