वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको आगामी नेतृत्वलाई लिएर स्थानीयस्तरमा बहस चलिरहेका बेला विकास व्यवस्थापन, वातावरण र प्राविधिक क्षेत्रमा लामो अनुभव भएका इन्जिनियर मनोजकुमार गुप्ताको नाम चर्चामा आएको छ।
वीरगञ्जका विभिन्न बौद्धिक, प्राविधिक तथा पेशागत क्षेत्रका व्यक्तिहरूले गुप्तालाई महानगरपालिकाको नगर प्रमुख पदका लागि अघि बढ्न आग्रह गरेका छन्। उनीहरूले वीरगञ्जको विद्यमान सहरी समस्या समाधान गर्न प्राविधिक ज्ञान, परियोजना व्यवस्थापन र विकास साझेदारसँग सहकार्यको अनुभव भएको नेतृत्व आवश्यक रहेको बताएका छन्।
गुप्ताको सम्भावित उम्मेदवारीसँगै वीरगञ्जको स्थानीय राजनीतिक बहसमा सडक, ढल, डुबान, फोहोर व्यवस्थापन, पार्किङ, यातायात, वातावरण, स्वास्थ्य, शिक्षा, रोजगारी र डिजिटल सार्वजनिक सेवा जस्ता विषय प्राथमिकतामा देखिएका छन्।
गुप्ताले वीरगञ्जको विकासलाई केवल सडक, भवन र भौतिक संरचना निर्माणसँग जोडेर हेर्न नहुने बताउँदै नागरिकको दैनिक जीवनमा प्रत्यक्ष सुधार देखिने गरी योजना बनाउनुपर्ने धारणा राख्दै आएका छन्।
‘राजनीतिभन्दा विकासको बहस आवश्यक’
नेपाली कांग्रेस निकट श्याम पोखरेलले गुप्ताले राजनीतिक परिचयभन्दा आफ्नो कामलाई प्राथमिकता दिएको आफूले पाएको बताउँदै उहाँको सम्भावित प्रवेशले वीरगञ्जको विकासबारे फरक खालको बहस सुरु हुन सक्ने धारणा राखेका छन्।
समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले गुप्ता गरिबी निवारण कोषको परियोजना प्रमुखका रूपमा पर्सामा कार्यरत रहँदा न्यून आय भएका समुदायको जीवनस्तर सुधारका विभिन्न कार्यक्रममा संलग्न रहेको स्मरण गरेका छन्।
यादवका अनुसार जगरनाथपुर क्षेत्रमा स्थानीय स्रोतको प्रयोगबाट ग्यासिफायर प्लान्ट सञ्चालन तथा वैकल्पिक ऊर्जासम्बन्धी कार्यक्रम अघि बढाउन गुप्ताको भूमिका थियो।
नेकपा एमालेका नेता ज्वाला साहले पनि स्थानीय स्रोत, सीप र प्रविधिमा आधारित उद्योगमार्फत रोजगारी सिर्जना गर्ने गुप्ताको अवधारणालाई वीरगञ्जको औद्योगिक विकाससँग जोड्न सकिने बताएका छन्।
पत्रकार छट्ठु साहले पर्सामा कार्यक्रम प्रमुखका रूपमा कार्यरत रहँदा गुप्ताले समुदाय परिचालन तथा वातावरणसँग सम्बन्धित विभिन्न गतिविधिमा काम गरेको स्मरण गरेका छन्।
फोहोरदेखि डुबानसम्म दीर्घकालीन योजना
गुप्ताले वीरगञ्जको प्रमुख समस्यामध्ये फोहोर व्यवस्थापन र वर्षायामको डुबानलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने धारणा राखेका छन्।
उनका अनुसार फोहोर उठाउने काममा मात्र सीमित नभई घरबाटै फोहोर वर्गीकरण, पुनःप्रयोग, प्रशोधन तथा जैविक फोहोरबाट उपयोगी वस्तु उत्पादन गर्ने एकीकृत प्रणाली आवश्यक छ।
त्यस्तै, डुबान समाधानका लागि सडक र ढललाई छुट्टाछुट्टै योजनाका रूपमा हेर्नुभन्दा समग्र जलनिकास प्रणालीको अध्ययन गरी दीर्घकालीन पूर्वाधार योजना बनाउनुपर्ने उनको भनाइ छ।
पार्किङ तथा यातायात व्यवस्थापन, सार्वजनिक स्थानको संरक्षण र अव्यवस्थित सहरीकरण नियन्त्रणलाई पनि उनले महानगरको दीर्घकालीन योजनाको हिस्सा बनाउनुपर्ने बताएका छन्।
उद्योगसँगै रोजगारीमा जोड
औद्योगिक तथा व्यापारिक केन्द्रका रूपमा रहेको वीरगञ्जको सम्भावनालाई स्थानीय रोजगारी र उद्यमशीलतासँग जोड्नुपर्ने गुप्ताको धारणा छ।
स्टार्टअप, सीप विकास, स्थानीय उत्पादन, निजी क्षेत्रसँग सहकार्य तथा सार्वजनिक–निजी साझेदारीमार्फत रोजगारीका अवसर विस्तार गर्न सकिने उनको भनाइ छ।
युवालाई रोजगारीका लागि अन्यत्र जानुपर्ने बाध्यता घटाउन स्थानीय उत्पादन र सीपलाई बजारसँग जोड्ने तथा महानगरले लगानी र उद्यमका लागि आवश्यक सहजीकरण गर्नुपर्ने उनले बताएका छन्।
डिजिटल सेवामार्फत जवाफदेहिता
महानगरबाट सेवा लिँदा नागरिकले अनावश्यक झन्झट व्यहोर्नुपर्ने अवस्थालाई कम गर्न सार्वजनिक सेवामा डिजिटल प्रणाली विस्तार गर्नुपर्ने प्रस्ताव पनि गुप्ताले अघि सारेका छन्।
सेवाका लागि दिएको आवेदनको अवस्था, प्रक्रिया र लाग्ने समय अनलाइनबाटै थाहा पाउने व्यवस्था गर्नुपर्ने तथा महानगरका योजना, बजेट र खर्चको सार्वजनिक अनुगमन गर्न सकिने प्रणाली विकास गर्नुपर्ने उनको धारणा छ।
१७ वर्षभन्दा बढी विकास क्षेत्रमा काम गरेको दाबी
गुप्ताले विश्व बैंक तथा संयुक्त राष्ट्र संघसम्बद्ध पहलसहित अन्तर्राष्ट्रिय विकास संस्थामा १७ वर्षभन्दा बढी काम गरेको विवरण सार्वजनिक गरेका छन्।
परियोजना व्यवस्थापन, सरोकारवालासँगको समन्वय, नीतिगत संवाद, वातावरण, नवीकरणीय ऊर्जा तथा अन्तर्राष्ट्रिय विकास साझेदारसँगको सहकार्य उनका अनुभवका प्रमुख क्षेत्र रहेको बताइएको छ।
उनको व्यावसायिक पृष्ठभूमि वातावरण तथा हरित प्रविधिसँग समेत जोडिएको छ। हस्क पावर नेपाल प्रालिमार्फत स्वच्छ चुलो, ग्यासिफायर चुलो, बायो–पेन्ट तथा हस्क पेलेटलगायतका क्षेत्रमा काम गरेको विवरण उनले सार्वजनिक गरेका छन्।
‘मेयर बन्नुभन्दा जिम्मेवारी लिन चाहन्छु’
गुप्ताले नगर प्रमुखको पदलाई व्यक्तिगत प्रतिष्ठा वा राजनीतिक परिचय बनाउने माध्यमका रूपमा नभई सार्वजनिक जिम्मेवारीका रूपमा लिनुपर्ने धारणा राखेका छन्।
महानगरका समस्या जटिल भएकाले एक व्यक्तिले मात्रै सबै परिवर्तन गर्न नसक्ने भन्दै उनले राजनीतिक तथा प्रशासनिक तहबीच समन्वय, स्पष्ट योजना, समयसीमा र निरन्तर कार्यान्वयन आवश्यक रहेको बताएका छन्।
उनले नगर प्रमुख निर्वाचित भएमा पहिलो सय दिन, पहिलो वर्ष र पाँच वर्षको प्राथमिकता स्पष्ट रूपमा नागरिकसमक्ष राख्नुपर्ने धारणा पनि अघि सारेका छन्।
यद्यपि गुप्ताले वीरगञ्ज महानगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दिने औपचारिक घोषणा भने गरिसकेका छैनन्। राजनीतिक सहकार्य र निर्वाचनमा सहभागी हुने विषयमा अन्तिम निर्णय हुन बाँकी रहेकाले उनको सम्भावित उम्मेदवारी अहिले चर्चामै सीमित छ।
गुप्ताको नाम चर्चामा आएसँगै वीरगञ्जको स्थानीय राजनीतिक बहसमा परम्परागत राजनीतिक नाराभन्दा सहरी व्यवस्थापन, वातावरण, प्रविधि, रोजगारी र सार्वजनिक सेवा सुधारको एजेन्डासमेत जोडिन थालेको देखिएको छ।