जनकपुरधाम । आसमान नेपालको २५औँ वार्षिक साधारण सभा सोमबार जनकपुरधाममा सम्पन्न भएको छ। साधारण सभाले रेखा यादवको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा मनु न्यौपाने, सचिवमा राजकुमार विश्वकर्मा, कोषाध्यक्षमा सुशीला देवी सिंह तथा सदस्यमा महादेव यादव, योगेन्द्रकुमार राम, रामप्रवेश यादव, रेखा कुमारी महतो र शोभा सर्वरिया चयन भएका छन्।
रामप्रवेश यादवको अध्यक्षतामा सम्पन्न दोस्रो दिनको औपचारिक कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेशका सभामुख रामाशिष यादवले सामाजिक क्षेत्रमा आसमान नेपालले सरकारभन्दा एक कदम अगाडि रहेर काम गरिरहेको बताए। उनले शिक्षा मानिसको जीवनको आधार भएकाले शिक्षामा विशेष लगानी र प्राथमिकता आवश्यक रहेको बताए।
सभामुख यादवले मधेश प्रदेशका दलित तथा सीमान्तकृत समुदायमा शिक्षाको पहुँच विस्तार गर्न आसमान नेपालले महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे। मधेश प्रदेशका विद्यालयहरूमा शिक्षक अभावलगायतका समस्या रहेको बताउँदै उनले विद्यालयको वातावरण बालबालिकाको घरभन्दा राम्रो बनाउन सके मात्रै शिक्षाको गुणस्तर सुधार हुने धारणा राखे।
स्थानीय तहका जनप्रतिनिधि तथा सांसदहरूले मठमन्दिर, गेट, नाला र सडक निर्माणमा बजेट खर्च गर्ने गरे पनि विद्यालय तथा शिक्षाका लागि पर्याप्त बजेट विनियोजन हुन नसकेको उनले बताए। नेताहरूलाई ठूलो रकम खर्च गरेर माला लगाउनुभन्दा त्यसै रकमबाट कापी–कलम खरिद गरी विद्यार्थीलाई वितरण गर्दा शिक्षा क्षेत्रमा प्रत्यक्ष सहयोग पुग्ने उनको भनाइ थियो।
सभामुख यादवले आफू प्रदेश सांसद हुँदा गाउँमा अनुगमनका क्रममा आसमान नेपालले शिक्षा क्षेत्रमा गरेको काम प्रत्यक्ष देखेको स्मरण गर्दै संस्थाको योगदानको प्रशंसा गरे।
कार्यक्रममा सचिव राजकुमार विश्वकर्मा, कार्यकारी निर्देशक नवलकिशोर यादव, कार्यक्रम प्रमुख दिनेश्वर शाहलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
आइतबारदेखि सुरु भएको वार्षिक कार्यक्रममा संस्थाले सञ्चालन गरेका विभिन्न कार्यक्रम तथा परियोजनाको प्रगति, उपलब्धि, चुनौती, सिकाइ र आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो।