काठमाडौं । सुनसरीमा भएको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिबारे साझा धारणा निर्माण गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन्।
आज बिहान ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्ने बैठकमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आमन्त्रण गरिएको छ। साथै उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई समेत छलफलमा सहभागी हुन निमन्त्रणा पठाइएको रास्वपाले जनाएको छ।
सभापति लामिछानेको सचिवालयका अनुसार सम्बन्धित दलहरूलाई औपचारिक पत्राचार गरिनुका साथै विभिन्न दलका शीर्ष नेताहरूसँग प्रत्यक्ष सम्पर्क गरी बैठकमा उपस्थित हुन आग्रह गरिएको छ।
रास्वपाका महामन्त्री विपिन आचार्यले सुनसरी घटनापछि सामाजिक सद्भाव कायम राख्न तथा सम्भावित द्वेष र तनाव न्यूनीकरण गर्न राजनीतिक दलहरूबीच साझा समझदारी आवश्यक रहेको बताए।
उनका अनुसार प्रशासनिक संयन्त्रले शान्ति–सुरक्षा कायम गर्न प्रयास गरिरहेको अवस्थामा राजनीतिक नेतृत्वबाट पनि एकताबद्ध सन्देश प्रवाह गर्नुपर्ने आवश्यकता महसुस भएपछि सर्वदलीय छलफलको आयोजना गरिएको हो।
बैठकले समसामयिक राजनीतिक अवस्था, सामाजिक सद्भाव तथा शान्ति–सुरक्षासम्बन्धी विषयमा साझा धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।