काठमाडौं । पछिल्लो समय भ्रष्टाचारविरुद्धको कारबाहीलाई तीव्र बनाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न सरकारी कार्यालयका कर्मचारी तथा अधिकृतहरूलाई घुससहित पक्राउ गर्दै अनुसन्धान अघि बढाएको छ। लगातारको स्टिङ अपरेसन र उजुरीका आधारमा भएका पक्राउका कारण आयोगको हिरासतसमेत भरिन पुगेको छ।
आयोगका अनुसार हाल दुई महिलासहित १४ जना हिरासतमा रहेका छन् भने केहीलाई अन्य सुरक्षा निकायको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। पक्राउ पर्नेहरूमा वडासचिव, कर अधिकृत, इन्जिनियर, लेखा अधिकृत, भेटेरिनरी चिकित्सक तथा सवारीचालकसम्म रहेका छन्।
आर्थिक वर्षको अन्त्यतिर भुक्तानी प्रक्रिया रोक्दै सेवाग्राहीसँग रकम माग्ने प्रवृत्ति बढेपछि उजुरीको संख्या समेत बढेको अख्तियारले जनाएको छ। पछिल्ला केही सातामा १० हजार रुपैयाँदेखि एक करोड रुपैयाँसम्मका घुस प्रकरण सार्वजनिक भएका छन्।
झापा, सर्लाही, काठमाडौं, सिराहा, सप्तरी, इलाम लगायतका जिल्लाबाट विभिन्न कर्मचारी रंगेहात पक्राउ परेका छन्। केही घटनामा भुक्तानी सहज बनाइदिने, सिफारिस उपलब्ध गराइदिने, लेखापरीक्षण मिलाइदिने तथा विकास आयोजनाको रकम निकासा गराइदिने नाममा घुस मागिएको अनुसन्धानबाट खुलेको छ।
यसैबीच, नेपाल टेलिकमको ठेक्का प्रकरणमा एक करोड रुपैयाँ घुस लेनदेन भएको आरोपमा पूर्वअधिकृतसहित अन्य व्यक्तिमाथि समेत अनुसन्धान भइरहेको छ। त्यस्तै सरकारी सम्पत्ति हिनामिनासम्बन्धी अर्को प्रकरणमा सशस्त्र प्रहरी बलकी एक इन्स्पेक्टर र उनका सहयोगीमाथि पनि अख्तियारले अनुसन्धान गरिरहेको छ।
भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि कारबाहीलाई अझ प्रभावकारी बनाइने अख्तियारले जनाएको छ।