पर्सा । पर्साको पकहाँमैनपुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको निरन्तर अनुपस्थितिका कारण कार्यालय सञ्चालन तथा सेवा प्रवाह प्रभावित भएको भन्दै स्थानीयवासी तथा सेवाग्राहीले असन्तुष्टि जनाएका छन्।
बिहीबार बिहान करिब ११ बजेसम्म गरिएको स्थलगत अवलोकनका क्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह कार्यालयमा उपस्थित नभएको भेटिएको थियो। त्यसैगरी सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका प्रमुख मनिलाल साह तेली पनि कार्यालयमा अनुपस्थित रहेको देखिएको छ। अन्य केही शाखाका कर्मचारीसमेत कार्यालय समयमा उपस्थित नभएको पाइएको थियो।
सेवा लिन गाउँपालिका पुगेका नागरिकहरूले कर्मचारीको प्रतीक्षा गर्नुपरेको गुनासो गर्दै कार्यालय समयको नियमित पालना नहुँदा दैनिक सेवा प्रवाह प्रभावित भएको बताएका छन्। स्थानीयका अनुसार प्रमुख प्रशासकीय अधिकृतको पटक–पटकको अनुपस्थितिले प्रशासनिक कार्यसम्पादनमा समेत प्रत्यक्ष असर परेको छ।
यसअघि गाउँपालिका अध्यक्ष सुरेश मेहताले कर्मचारीहरूको कार्यालय उपस्थितिका विषयमा पटक–पटक निर्देशन दिँदै आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको सार्वजनिक रूपमा बताएका थिए। उहाँले सुधारको अपेक्षा गरिए पनि अपेक्षित परिणाम नदेखिएको उल्लेख गर्दै सेवा प्रवाहमा समस्या कायम रहेको बताएका छन्।
यस विषयमा प्रमुख जिल्ला अधिकारी भोला दाहालसँग बुझ्दा प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह आफ्नी आमाको उपचारका लागि काठमाडौं गएको जानकारी प्राप्त भएको बताउनुभयो। उहाँले सार्वजनिक कार्यालयका कर्मचारीले कार्यालय समयको पूर्ण पालना गर्नुपर्ने उल्लेख गर्दै प्राप्त तथ्यका आधारमा आवश्यक अनुगमन तथा कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो।
समाचार प्रकाशनअघि प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहसँग उहाँको धारणा लिन पटक–पटक टेलिफोन सम्पर्क गर्ने प्रयास गरिएको थियो। तर उहाँले फोन नउठाएकाले प्रतिक्रिया प्राप्त हुन सकेन। त्यसैगरी सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख मनिलाल साह तेलीसँग पनि सम्पर्क हुन सकेन। उहाँहरूको प्रतिक्रिया प्राप्त भएमा त्यसलाई प्राथमिकताका साथ प्रकाशन गरिनेछ।