जिराभवानी । ठोरी गापा -५ मा रहेको ज्ञानवाटिका माविको नवनिर्मित पक्की भवनको उद्घाटन गरिएको छ । शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रममा ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले रु ५५ लाख लागतमा सम्पन्न चार कोठे पक्की भवनको उद्घाटन गर्दै विद्यालयलाई हस्तान्तरण गर्नु भएको हो।
यस्तै सोही कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले पुर्व विद्यार्थीको सहयोगमा प्राप्त शैक्षिक सामग्री कक्षा ५ सम्मका विद्यार्थीहरु लाई शुक्रबार नै हस्तान्तरण गर्नुभएको छ। सो विद्यालयका व्यवस्थापन समिति अध्यक्ष चन्द्र बहादुर नेवारको अध्यक्षतामा आयोजित कार्यक्रममा ठोरी -५ का वडा अध्यक्ष अष्ट बहादुर लोप्चन , कार्यपालिका सदस्य मेघराज सुनुवार , वडा सदस्यहरु निशा खड्का , लालमुनी देवी , सुनाखरी उपभोक्ता समिति अध्यक्ष भिम बहादुर पाख्रिन , समाजसेवी लेखमान थापा लगायत विभिन्न संघसंस्थाका अगुवाहरुको उपस्थिति थियो ।
कक्षा ५ सम्मका अभिभावक को खर्च नलाग्ने
यसैबीच ज्ञानवाटिका माविमा अध्ययनरत कक्षा ५ सम्मका विद्यार्थीले निशुल्क शिक्षा मात्र होइन , हाउस ड्रेस , कापी, कलम, जुत्ता, र ब्याग, पनि किन्न नपर्ने भएको छ। सो विद्यालयका पुर्व विद्यार्थीको सहयोगका कारण सो विद्यालयका विद्यार्थीहरुले विद्यालयका लागि आवश्यक पोसाक र शैक्षिक सामग्री निशुल्क प्राप्त गरेका हुन्।
पुर्व विद्यार्थीहरु हाल सायोन थाङ्का उद्योगका प्रोपाईटर बुद्ध शम्सेर योन्जन , हाल अमेरिका बस्दै आईरहनुभएका कृष्ण योन्जन , ओमबि स्विमिङ्का प्रोपाईटर विक्रम बोम्जन , मेरिका ट्रेडर्सका प्रोपाईटर मनोज बस्नेत र श्रेष्ठ जनरल स्टोर्सका प्रोपाईटर जीवन श्रेष्ठ लगायतले गरेको रु ८९ हजार सहयोगबाट विद्यार्थीका निमित्त अत्याअवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो ।
पुर्व विद्यार्थीको सहयोगले ज्ञानवाटिकामा अध्ययनरत कक्षा ५ सम्मका ४३ जना भन्दा धेरै विद्यार्थीले एक शैक्षिक सत्रसम्म पुग्ने सामग्री प्राप्त गरेका हुन्। यस अघि नै सुनाखरी उपभोक्ता समितिले कक्षा ५ सम्मका विद्यार्थीलाई हाउस ड्रेस प्रदान गरेको थियो । समितिले यस अघि नै सो विद्यालयमा ६ दर्जन भन्दा धेरै विद्यार्थीहरुलाई नगद छात्रवृत्ति पनि वितरण गरेको थियो ।