वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१४ पिपराका हरिओमप्रसाद पटेलले आमाको मृत्युबापत पाउनुपर्ने जीवन बीमाको रकम लामो समयदेखि उपलब्ध नगराएको भन्दै नेपाल बीमा प्राधिकरणमा उजुरी दिएका छन्।
पटेलले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका शाखा प्रमुख प्रमोद प्रजापति तथा एजेन्ट चन्द्रेश्वर साहविरुद्ध उजुरी दर्ता गराउँदै बीमा दाबीको रकम उपलब्ध गराइदिन माग गरेका हुन्।
उजुरीमा उल्लेख भएअनुसार पटेलकी आमाको हिमालयन लाइफ इन्स्योरेन्समा जीवन बीमा नं. HLI 20270001059 रहेको थियो। आमाको २०८२ साल असोज २७ गते हृदयाघातका कारण मृत्यु भएपछि बीमा कम्पनीलाई मृत्यु भएको जानकारी गराई माग गरिएका सम्पूर्ण कागजातसमेत पेश गरिएको पटेलले बताएका छन्।
मृत्यु दाबीबापतको सम्पूर्ण बीमा रकम उपलब्ध गराउने भन्दै कम्पनीका सम्बन्धित व्यक्तिहरूले पटक–पटक आश्वासन दिँदै आएको, तर लामो समय बितिसक्दा पनि रकम भुक्तानी नगरेको उनको आरोप छ।
उजुरीमा बीमा दाबी प्रक्रियाका क्रममा उपचार नै नभएको अस्पतालको प्रतिवेदनसमेत माग गर्दै आफूलाई झुलाउने काम भएको उल्लेख गरिएको छ। कम्पनीले २०८३ साल साउन महिनाभित्र रकम भुक्तानी हुने भन्दै विश्वास दिलाएको भए पनि साउन महिना बितिसक्दा समेत बीमा दाबीको रकम उपलब्ध नगराइएको पटेलको भनाइ छ।
लामो समयसम्म बीमा रकम नपाएपछि बाध्य भएर बीमा प्राधिकरणमा उजुरी दिनुपरेको पटेलले बताएका छन्। उनले बीमा कम्पनीलाई आवश्यक निर्देशन दिई आफूले पाउनुपर्ने मृत्यु दाबीको रकम उपलब्ध गराउन तथा विवाद समाधानका लागि आवश्यक कारबाही गर्न प्राधिकरणसँग माग गरेका छन्।
उजुरीसँगै उनले बीमा लेख उल्लेख भएको कागजात, मृत्यु दर्ता प्रमाणपत्र, नेशनल मेडिकल कलेजमा मृत्यु घोषणा भएको प्रमाणित प्रतिलिपि, मृतकको नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि तथा नाता प्रमाणितको प्रतिलिपिसमेत संलग्न गरेका छन्।
बीमा रकम भुक्तानीमा ढिलाइ भएको विषयमा कम्पनीको आधिकारिक धारणा भने उजुरीमा समावेश छैन। त्यसैले उजुरीमा लगाइएको आरोपमाथि कम्पनीको प्रतिक्रिया आएपछि घटनाको थप पाटो स्पष्ट हुने देखिन्छ।