वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्साको अध्यक्षमा पूर्वसांसद तथा युवा नेतृ बिना जैसवाल निर्विरोध चयन भएकी छन्। वीरगञ्जस्थित बसपार्कको होटल सोल्टी गार्डेनमा सम्पन्न राप्रपाको छैटौँ जिल्ला अधिवेशनले जैसवाललाई सर्वसम्मत रूपमा जिल्ला अध्यक्ष चयन गरेको हो।
बिहान १० बजेबाट सुरु भएको अधिवेशनमा नयाँ नेतृत्व चयनका विषयमा लामो समयसम्म छलफल, आन्तरिक खिचातानी र विवाद चलेको थियो। करिब नौ घण्टासम्म चलेको छलफल तथा सहमतिको प्रयासपछि बेलुका ७ बजे अध्यक्षमा जैसवालको नाममा सहमति जुटेको हो।
अध्यक्ष पदका लागि १० जना आकांक्षी देखिएपछि नेतृत्व चयनमा केही समय अन्योल उत्पन्न भएको थियो। आकांक्षीहरूबीच सहमति जुटाउन लामो समयसम्म पार्टीभित्र छलफल चलेको थियो। अन्ततः अध्यक्ष पदका आकांक्षीमध्ये जैसवाललाई अन्य आठ जना आकांक्षीले समर्थन गरेपछि उनी निर्विरोध अध्यक्ष चयन भएकी हुन्।
अधिवेशनबाट नेतृत्व चयनका क्रममा देखिएको आन्तरिक प्रतिस्पर्धालाई सहमतिमार्फत टुंग्याउँदै पार्टीले जिल्ला नेतृत्व पाएको राप्रपा पर्साका नेता तथा कार्यकर्ताले बताएका छन्। सर्वसम्मत नेतृत्व चयनसँगै जिल्लामा पार्टी संगठनलाई थप एकताबद्ध र सक्रिय बनाउने अपेक्षा गरिएको छ।
अधिवेशनमा राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन प्रमुख अतिथिका रूपमा सहभागी थिए। त्यस्तै राप्रपाकी सचेतक एवं प्रतिनिधिसभा सदस्य खुस्बु ओली विशेष अतिथिका रूपमा उपस्थित थिइन्।
कार्यक्रममा राप्रपा मधेस प्रदेश अध्यक्ष एवं सांसद भरत गिरी, पूर्वसांसद दीपक सिंह लगायत केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेता–कार्यकर्ता सहभागी थिए।
अधिवेशनलाई सम्बोधन गर्दै पार्टी नेतृत्वले संगठनलाई स्थानीय तहदेखि नै थप सुदृढ बनाउँदै जनताका मुद्दालाई प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिएको बताइएको छ। पर्सामा राप्रपाको संगठन विस्तार, जनसम्पर्क वृद्धि तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने विषयमा समेत अधिवेशनमा छलफल भएको थियो।
नवनिर्वाचित जिल्ला अध्यक्ष जैसवालका लागि पार्टी संगठनलाई थप चलायमान बनाउने, कार्यकर्ताबीचको एकता कायम गर्ने र जिल्लाका स्थानीय तथा जनसरोकारका मुद्दालाई राजनीतिक एजेन्डाका रूपमा अघि बढाउने चुनौती रहेको छ।
लामो समयसम्म चलेको आन्तरिक छलफल र नेतृत्व चयनको रस्साकस्सीपछि अन्ततः सर्वसम्मति जुटेसँगै पर्सा राप्रपाले नयाँ जिल्ला नेतृत्व पाएको छ। नयाँ नेतृत्वले जिल्लामा पार्टीको संगठनलाई थप मजबुत बनाउँदै आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।