वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जिल्लाका विभिन्न प्रहरी कार्यालयको स्थलगत भ्रमण तथा अनुगमन गर्नुभएको छ।
भदौ २४ गते बुधबार गरिएको अनुगमनका क्रममा प्रहरी उपरीक्षक भट्टराईले इलाका प्रहरी कार्यालय पोखरिया, इलाका प्रहरी कार्यालय भिष्वा बञ्जारी, वडा प्रहरी कार्यालय श्रीपुर तथा पर्यटक प्रहरी कार्यालय वीरगञ्जको निरीक्षण गर्नुभएको हो।
अनुगमनका क्रममा उहाँले प्रहरी कार्यालय परिसरको निरीक्षण गर्नुका साथै गार्ड अफ अनर ग्रहण गर्नुभएको थियो। त्यसपछि कार्यालयका अभिलेख, हतियार भण्डार, प्रहरी भोजनालय, ब्यारेक तथा सरसफाइको अवस्थाबारे जानकारी लिनुभएको थियो।
प्रहरी उपरीक्षक भट्टराईले सेवाग्राहीसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका गुनासा तथा समस्यासमेत सुन्नुभएको थियो। सेवाग्राहीबाट प्राप्त गुनासा र समस्याको यथाशीघ्र समाधान गर्न मातहतका प्रहरी अधिकारीलाई उहाँले निर्देशन दिनुभएको थियो।
पर्यटक प्रहरी कार्यालय वीरगञ्जको निरीक्षणका क्रममा उहाँले पर्यटकीय क्षेत्रको सुरक्षा व्यवस्था, होटल तथा व्यवसायीसँगको समन्वय र सूचना सङ्कलन प्रणालीलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो।
अनुगमनका क्रममा प्रहरी उपरीक्षक भट्टराईले मातहतका कार्यालय प्रमुख तथा प्रहरी कर्मचारीलाई कानुनको परिधिभित्र रहेर निष्पक्ष, पारदर्शी र सेवाग्राहीमैत्री ढङ्गले सेवा प्रवाह गर्न निर्देशन दिनुभएको थियो। अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउँदै स्थानीय समुदायसँग समन्वय र सहकार्य बढाउनसमेत उहाँले जोड दिनुभयो।
उहाँले प्रहरी जनताको सेवक भएकाले सेवाग्राहीसँग मर्यादित तथा मैत्रीपूर्ण व्यवहार गर्दै छिटोछरितो सेवा प्रदान गर्नुपर्ने बताउनुभयो।
भ्रमणका क्रममा प्रहरी उपरीक्षक भट्टराईले स्थानीय जनप्रतिनिधि तथा समाजसेवीसँग समेत भेटघाट गरी जिल्लाको सुरक्षा अवस्था र स्थानीय समस्याबारे जानकारी लिनुभएको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साले मातहतका प्रहरी कार्यालयको नियमित अनुगमनलाई निरन्तरता दिँदै प्रहरीको कार्यसम्पादन, सेवा प्रवाह तथा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने जनाएको छ।