काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीसमेतगरी चारजनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार रामबाबु ,उनकी श्रीमती माला कुमारी महतोलगायतविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर गरेको हो।
गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति लुकाउने,छल्ने,रुपान्तरण,हस्तान्तरण,स्रोत,स्वरुप र स्वामित्व परिवर्तन गर्नेलगायतका निषेधित कार्यहरू गरी सम्पत्ति शुद्धीकरण गरेको उनीहरूमाथि आरोप छ।
आयोगले रामबाबु र उनकी श्रीमतीविरुद्ध जनही ४ करोड ४८लाख ७९ हजार ८४१ रुपैयाँ विगो माग गरेको छ।
सम्पत्तिको कारोबार र भुक्तानीमा तेस्रो पक्षका रुपमा साली एवं साडुभाइ नातका रीना कुशवाह र निजका पति कृष्ण प्रसाद मेहता समेतलाई प्रयोग गरी भ्रष्टाचारबाट कमाएको रकम आफूसमेतका बैंक खाता र सहकारीमा जम्मा गरेको देखिन आएको अख्तियारको ठहर छ।
महेताले गैरकानुनीरुपमा कमाएको रकम श्रीमती,साली,साडुभाइमार्फत जग्गा खरिदमा लगानी गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।
रीना कुशवा र निजका श्रीमान कृष्ण प्रसाद मेहतालाई भने मुद्दामा मतियार बनाइएको छ। उनीहरूलाई मुख्य कसुरदार रामबाबुलाई हुने सजायको आधार सजायको माग गरिएको अख्तियारले जनाएको छ।