रौतहट । परोहा नगरपालिका–९ रामपुर खापमा बन्द रहेको छोटी भन्सार कार्यालय पुनः सञ्चालन गर्न माग गर्दै स्थानीयबासीले सुरु गरेको धर्ना तथा रिले अनसन तेस्रो दिन पनि जारी राखेका छन्।
लामो समयदेखि सीमा नाका बन्द हुँदा सीमावर्ती क्षेत्रका बासिन्दालाई भारततर्फ आवतजावत गर्न तथा दैनिक उपभोग्य सामग्रीको कारोबार र जीविकोपार्जनमा समस्या भएको भन्दै स्थानीयबासी आन्दोलनमा उत्रिएका हुन्। नेपाल–भारत सीमासँग जोडिएको रामपुर खाप नाका स्थानीयका लागि वर्षौंदेखि आवतजावत तथा दैनिक कारोबारको महत्वपूर्ण माध्यम रहँदै आएको आन्दोलनरत पक्षको दाबी छ।
नेपाल सिमाना संघर्ष समिति तथा स्थानीयबासीका अनुसार यस क्षेत्रको समस्या समाधानका लागि विगतमा रौतहट जिल्लाका सम्बन्धित सरोकारवाला निकायसँग पटक–पटक मौखिक सहमति तथा समझदारी भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। सहमति कार्यान्वयनमा ढिलाइ हुँदै गएपछि स्थानीयबासी थप समस्यामा परेको समितिको भनाइ छ।
यसैबीच, बुधबार धर्ना तथा रिले अनसनस्थलमा अनुगमन तथा छलफलका लागि रौतहटका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा गौर भन्सार कार्यालयका प्रमुख पुगेका थिए। तर, छलफलबाट समस्या समाधानको सकारात्मक पहल हुनुको सट्टा अधिकारीहरूले आन्दोलनकारीमाथि दबाब र धम्कीपूर्ण शैली अपनाएको आन्दोलनकारीहरूले नै आरोप लगाएका छन्।
आन्दोलनकारीका अनुसार आफूहरूको माग र सीमाक्षेत्रका जनताको समस्याबारे गम्भीरतापूर्वक छलफल गर्नुको साटो प्रशासनिक अधिकारीहरू कडा रूपमा प्रस्तुत भएका थिए। राज्यका जिम्मेवार निकायबाटै आफूहरूको मागलाई बेवास्ता गर्दै धम्क्याउने शैलीमा कुराकानी भएको आरोपले आन्दोलनरत पक्षलाई थप आक्रोशित बनाएको उनीहरूको भनाइ छ।
नेपाल सिमाना संघर्ष समितिले रामपुर खापमा छोटी भन्सार कार्यालय सञ्चालनको लामो इतिहास रहेको दाबी गरेको छ। समितिका अनुसार विक्रम संवत् २००७ सालदेखि नै यस क्षेत्रमा छोटी भन्सार कार्यालय सञ्चालनमा रहेको थियो। लामो समयदेखि सञ्चालनमा रहेको नाका बन्द हुँदा स्थानीय जनताको दैनिक जीवनमा प्रत्यक्ष असर परेको समितिको भनाइ छ।
नाका बन्द हुँदा राज्यले राजस्वसमेत गुमाइरहेको स्थानीयको दाबी छ। वैधानिक रूपमा भन्सारमार्फत कारोबार हुने वातावरण नहुँदा अवैध कारोबार तथा राजस्व चुहावट बढ्न सक्ने भन्दै उनीहरूले नाका सञ्चालन गरी व्यवस्थित रूपमा भन्सार असुली गर्नुपर्ने माग गरेका छन्।
आन्दोलनकारीले गौर भन्सार कार्यालयको व्यवस्थापन तथा नाका सञ्चालनसम्बन्धी नीतिका कारण रामपुर खाप छोटी भन्सार बन्द भएको आरोप लगाएका छन्। नाका बन्द हुँदा वैधानिक व्यापारिक गतिविधि प्रभावित हुनुका साथै सीमाक्षेत्रमा अवैध कारोबारलाई प्रोत्साहन पुग्ने अवस्था सिर्जना भएको स्थानीयको भनाइ छ।
स्थानीयबासीले आफूहरूको माग कुनै व्यक्ति वा संस्थाविरुद्ध नभई वर्षौंदेखि बन्द रहेको छोटी भन्सार पुनः सञ्चालन गरी सीमाक्षेत्रका नागरिकलाई सहज आवतजावत र वैधानिक कारोबारको वातावरण निर्माण गर्नुपर्ने रहेको बताएका छन्।
तेस्रो दिनसम्मको धर्ना तथा रिले अनसनका क्रममा पनि सम्बन्धित निकायबाट ठोस निर्णय आउन नसकेको नेपाल सिमाना संघर्ष समितिले जनाएको छ। समितिले वार्तामार्फत समस्या समाधानका लागि आफूहरू तयार रहेको जनाउँदै तत्काल छोटी भन्सार सञ्चालनको प्रक्रिया अघि बढाउन माग गरेको छ।
समितिका अनुसार यसअघि तय गरिएको कार्यक्रमअनुसार माग सम्बोधन नभए आगामी सोमबारदेखि आन्दोलनलाई थप कडा बनाउँदै अनिश्चितकालीन आमरण अनसन सुरु गर्ने तयारी भइरहेको छ। आन्दोलनकारीले आफूहरूको मागलाई बेवास्ता गरिए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित सरकारी निकायले लिनुपर्ने चेतावनीसमेत दिएका छन्।
सीमाक्षेत्रका नागरिकले भने स्थानीयको दैनिक जीवन, आवतजावत र वैधानिक कारोबारलाई सहज बनाउने गरी सरकारले तत्काल निकास खोज्नुपर्ने बताएका छन्। छोटी भन्सार सञ्चालनको विषयलाई केवल सुरक्षा वा प्रशासनिक दृष्टिकोणबाट मात्र नभई सीमावर्ती नागरिकको दैनिकी, राजस्व संकलन र वैधानिक व्यापारसँग जोडेर समाधान खोज्नुपर्ने उनीहरूको माग छ।
रामपुर खाप छोटी भन्सार पुनः सञ्चालन गर्ने वा नगर्ने विषयमा सम्बन्धित प्रशासन तथा भन्सार कार्यालयको औपचारिक धारणा भने सार्वजनिक हुन बाँकी छ। आन्दोलन चर्किँदै गएपछि स्थानीय प्रशासनले संवादमार्फत निकास निकाल्छ वा आन्दोलनकारीले घोषणा गरेअनुसार आमरण अनसन सुरु गर्छन् भन्ने विषयले अबको अवस्था निर्धारण गर्ने देखिएको छ।