पर्सा । पर्साको पकहा मैनपुर गाउँपालिकामा नियम, कानुन र प्रशासनिक मर्यादाको धज्जी उडाउँदै एक करार शिक्षकलाई शिक्षा शाखा प्रमुख बनाउने खेल सञ्चारमाध्यममा छताछुल्ल भएको छ। प्राथमिक तहमा कार्यरत करार शिक्षक सञ्जय प्रसाद चौहानले राजनीतिक शक्ति, घूसपैठ र दबाबको भरमा शिक्षा प्रमुख हत्याउन चौतर्फी प्रपञ्च र दौडधुप तीव्र पारेका हुन्।
श्रीमती कार्यपालिका सदस्य रहेको मातहतको धाक देखाउँदै शिक्षक चौहानले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहलाई चरम दबाबमा पारेका छन्। सोही दबाबका कारण अधिकृत साहले आफू बिदामा बसेकै दिन (मिति २०८३-०५-१८) मा गाउँपालिकाको चलानी नम्बर २७३ प्रयोग गरी चौहानलाई शिक्षा प्रमुख बनाउने अनुमति माग्दै शिक्षा विकास तथा समन्वय इकाई पर्सामा सिफारिस पत्र पठाएका हुन्। बिदाका दिन यसरी गोप्य रूपमा सिफारिस जारी हुनुले नियतमाथि गम्भीर प्रश्न खडा गरेको छ।
यस सम्पूर्ण प्रकरणमा गाउँपालिकाका प्रशासन प्रमुख रमेश मेहताले मुख्य बिचौलियाको भूमिका खेल्दै ठूलो आर्थिक चलखेल गरेको आरोप लागेको छ। मेहताले प्रमुख प्रशासकीय अधिकृतदेखि इकाई प्रमुखसम्मलाई आर्थिक प्रलोभनमा पारी अवैध नियुक्ति सदर गराउने प्रपञ्च रचेको स्थानीयको दाबी छ।
यद्यपि, यो प्रपञ्चसामू गाउँपालिका अध्यक्ष र शिक्षा इकाई प्रमुख कडा रूपमा उभिएका छन्। गाउँपालिका अध्यक्ष सुरेश मेहताले आक्रोश पोख्दै भने, "मेरो अनुमति र सहमतिविना कुनै पनि हालतमा करार शिक्षकलाई शिक्षा प्रमुखको रूपमा स्वीकार गरिने छैन। शिक्षा क्षेत्रमा यस्तो घिनलाग्दो राजनीति चल्दैन।"
त्यस्तै, शिक्षा विकास तथा समन्वय इकाई पर्साका प्रमुख मोती भट्टराईले सिफारिस पत्र आएको पुष्टि गर्दै नियमविपरीत कुनै पनि सम्झौता नहुने स्पष्ट पारेका छन्। भट्टराईले भने, "शिक्षा ऐनअनुसार शिक्षकलाई शिक्षण पेसाबाहेक अन्य प्रशासनिक काममा खटाउन पाइँदैन। कानुन मिचेर करार शिक्षकलाई शिक्षा प्रमुख बनाउन इकाईले कुनै पनि हालतमा अनुमति दिने छैन।"