वीरगञ्ज । पर्साको धोबिनी गाउँपालिकामा सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत सञ्जीव कुमार यादवले पदभार ग्रहण गरेका छन् । यादवले बिहीबार गाउँपालिकामा हाजिर भई औपचारिक रूपमा कार्यभार सम्हालेका हुन् ।
यादवलाई गाउँपालिकाले एक कार्यक्रम आयोजना गरी स्वागत तथा परिचयात्मक कार्यक्रम गरेको छ । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा जनप्रतिनिधि तथा कर्मचारीहरूले फूलमाला र दोसल्ला ओढाएर यादवको स्वागत गरेका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहान, उपाध्यक्ष मञ्जुदेवी कुर्मिन, वडा अध्यक्षहरू देवेन्द्रप्रसाद कुर्मी, मनाउर अहमद, अबास मियाँ, राजकिशोरप्रसाद कुर्मी र बन्धु साह तेली लगायतको उपस्थिति थियो ।
त्यसैगरी स्वास्थ्य शाखा प्रमुख काबिन्द्र यादव, शिक्षा शाखा प्रमुख जितेन्द्रप्रसाद चौहान, प्रशासन प्रमुख सञ्जय यादव, योजना प्रमुख पप्पु पटेल, जिन्सी प्रमुख प्रदीप पटेल, इन्जिनियर रविभूषण पटेल लगायत कर्मचारीहरूको सहभागिता रहेको थियो ।
पदभार ग्रहण गर्दै प्रमुख प्रशासकीय अधिकृत यादवले नियम–कानुनले तोकेको जिम्मेवारी पूरा गर्ने क्रममा आफ्नो तर्फबाट कुनै समस्या हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले गाउँपालिकाको समग्र विकास र समृद्धिका लागि जनप्रतिनिधि तथा कर्मचारीबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
यादवले गाउँपालिकाबाट प्रवाह हुने सेवाहरूलाई थप प्रभावकारी, छिटो र छरितो बनाउँदै सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको बताए ।
“तपाईंहरूले आज जसरी स्वागत गर्नुभएको छ, त्यसरी नै आगामी दिनमा पनि सहयोग, समन्वय र सहकार्यको आवश्यकता छ,” उनले भने ।
कार्यक्रममा जनप्रतिनिधि, कार्यपालिका सदस्य, गाउँपालिकाका कर्मचारी, प्रहरी तथा सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।