धनुषा । धनुषामा ग्रावेल अनलोड गर्ने क्रममा टिपर पल्टिँदा क्रसर सञ्चालकको मृत्यु भएको छ । बिहीबार मिथिला नगरपालिका–३ लालभित्तीस्थित औरही बाबा बालुवा प्रशोधन उद्योगमा ग्रावेल अनलोड गर्ने क्रममा टिपर पल्टिँदा क्रसर सञ्चालक स्थानीय ३६ वर्षीय हरि महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक उदय शम्शेर जबराले जानकारी दिए ।
उनका अनुसार बिहीबार बिहान प्रदेश २–०२–००१ ख ०१७१ नम्बरको टिपरबाट क्रसरमा ग्रावेल अनलोड गर्ने क्रममा टिपर अनियन्त्रित भएर पल्टिएको थियो । टिपर पल्टिएर दुर्घटनामा परेका क्रसर सञ्चालक महतोलाई जेसिबीको सहयोगमा उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक जबराले बताए ।
उक्त दुर्घटनामा टिपर चालक गम्भीर घाइते भएका छन् । खुट्टामा गम्भीर चोट लागेका उनको उपचार भइरहेको प्रहरी निरीक्षक जबराले जनाए ।